आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाउदै , मूल समारोह मध्यपू थिमिको बोडेमा आयोजना हुँदै

भक्तपुर, १ माघ ः आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रमहरुका साथ मनाइदैछ । केन्द्र देखि स्थानीय तहसम्म भूकम्प जस्तै बाढी पहिरो, आग्लागी जस्ता विपद्हरुबाट हुन सक्ने धनजनको क्षतिबाट सुरक्षित व्यवहारमा रहन जनचेतनामूलक गतिविधिका साथ भूकम्प दिवस मनाउने छन् । यद्यपी मुल समारोह भने मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आयोजना हुने छ । भूकम्प प्रविधी राष्ट्य समाज नेपाल एनसेटका वरिष्ठ भूकम्पविद् विजयकृष्ण उपाध्यायका अनुसार औपचारिक कार्यक्रममा सिमिति व्यक्तिहरु मात्रै उपस्थित भइ कार्यक्रम आयोजना गरिने भए पनि डिजिटल प्रविधिबाट भूकम्प सुरक्षा र पूर्वतयारीका सम्बन्धमा प्रर्दशनी हुने बताउनु भयो । वि.सं. १९९० सालको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँनेक्रममा यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनलाईनबाट विभिन्न प्रर्दषनीहरु समेत आयोजना हुने उहाँले बताउनु भयो । समुदायलाई भूकम्प जस्तै बहु विपदीय जोखिमबाट सुरक्षित रहन जोड दिन्दै यसपालि भूकम्प सुरक्षा दिवस मनाइ रहेको उहाँले बताउनु भएको होे । पुस २५ गते देखि माघ १६ गतेसम्मका लागि भूकम्पीय सुरक्षा र सचेतनाका लागि भवन संहिता, पुनर्निर्माण, पुनस्थापना लगायत विभिन्न राष्ट्यि अन्तर्राष्टिय अभ्यासहरुका विषयहरुमा एवं भूकम्प जस्तै विपदहरुले हुन सक्ने धनजनको क्षति र जोखिम व्यवस्थापन बारे समेत छलफल र सचेतनामूलक गतिविधि आयोजना गरी यस वर्ष भूकम्प सुरक्षा दिवस मनाइरहेको एनसेटका कार्यकारी निदेर्शक सूर्यनारायण श्रेष्ठले जनाएका छन् ।

रेडक्रस भक्तपुरले भन्ने  मुल कार्यक्रम हुने स्थलमा केही स्थलहरु राखेर भूकम्प र विपद् जोखिम न्यूनिकरण सम्वन्धि जनचेतनामूलक कार्यक्रमका साथ भूकम्प सुरक्षा दिवस मनाउने बताएका छन् । कोरोनाका कारण विगतका वर्षमा झै जोखिम व्यवस्थापन सम्वन्धि पूर्वतयारीका प्रदर्शनी हुन नसके पनि विभिन्न माध्यममार्फत भूकम्प सुरक्षा दिवस मनाउने तयारीमा रहेको रेडक्रस भक्तपुरका सभापति मनोज कुमार थापाले जनाएको छ ।

यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नारा लगाउँदै मध्यपुर थिमीको बोडेमा आज दिउँसो २ः२४ मिनेटमा १९९० सालको महाभूकम्पलाई स्मरण गर्दै भूकम्पीय सुरक्षा बारे पूर्वाभ्यास हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिएका छन् । नेपाल सरकार गृह मन्त्रालय, भूकम्प प्रविधि राष्ट्यि समाज नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी लगायत विभिन्न सामाजिक तथा सरकारी संघ संस्थाहरु एवं स्थानीय तहहरुको सक्रियतामा यो दिवस मनाउने छन् । बोडेमा हुने मुल समारोहमा भन्ने ३ सय जना मात्र सहभागि गराउने आयोजक समितिको योजना रहेको छ । मुख्य कार्यक्रमको प्राधानमन्त्री केपी ओलीबाट अनलाइनमार्फत उद्घाटन गराउने आयोजक समितिको कार्यक्रम रहेको छ ।

थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उहाँबाट ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मूल आयोजक समितिका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हुने कार्यक्रममा सुरक्षा निकायको बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने गरी तयारी गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ, सुरक्षा व्यवस्था मजबुत हुनेछ, प्रचार प्रसार, ब्यानर, फ्लेक्स, साउण्ड सिस्टम, वाइफाइ र कार्यक्रमस्थलको आवश्यक सजावटलगायत सबै तयारी नगरपालिकाले पूरा गरेको छ ।”

कार्यक्रममा एनसेटका प्रतिनिधिबाट ‘घुँटा टेकी गुँडुल्की ओत लागि समात’ को राष्ट्रिय अभ्याससमेत गरिने जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकारी एवं कानून अधिकृत केशव सिलवालले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस वर्ष दिवसको अवसरमा ¥याली प्रदर्शन नगरिने बताउनुभयो । उहाँले यो कार्यक्रमले मध्यपुरथिमिको ऐतिहासिक सम्पदा एवं कला, संस्कृतिको अवलोकनमा टेवा पुग्ने पनि बताउनुभयो ।

वर्तमान कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी वा अनलाइन प्रविधिमार्फत देशका सङ्घ, प्रदेश तथा स्थानीय तहहरुमा देशव्यापीरूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

भूकम्पीय सुरक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षासम्बन्धी डिजिटल प्रदर्शनीलगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यम र अनलाइन प्रविधिमार्फत आयोजना गरिने भएको छ ।

विसं २०५५ देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।
–––