भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ

भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ
२०७७ मंसिर १० गते, बुधबार
भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई दोसल्ला ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सार्वजनिक हितको निम्ति विभिन्न चुनौतीहरू सामना गर्दै अगाडि बढिरहेको बताउनुभयो ।


कोभिड महामारीबीच भक्तपुर नगरपालिकाले पारदर्शी ढंगले जनताको हितलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको बताउनुहुँदै उहाँले जनप्रतिनिधि, प्रशासन र स्थानीय जनताको संयुक्त प्रयासका कारण भक्तपुरमा कोरोना नियन्त्रणलगायतमा प्रभावकारी कामहरु भएको बताउनुभयो । भक्तपुर नगरपालिकाको कार्यसम्पादन देशभरिका स्थानीय तहहरुले हेरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीहरुले अझ बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल सरकारको मातहतमा सञ्चालन हुनु सकारात्मक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले अस्पतालमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका विषयमा सम्बन्धित मन्त्रालयसमक्ष ध्यानार्षण गराइसकेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रण र रोकथामलगायत विभिन्न क्षेत्रहरुमा भक्तपुर नपासँग प्रशंशनीय ढंगले समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रजिअ हुमकला पाण्डेले भक्तपुरमा करिब १ वर्षको कार्यसम्पादनबाट आफू निकै सन्तुष्ट रहेको बताउनुहुँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाको कार्य प्रशंसनीय भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयप्रति गरेको सद्भाव र समन्वयप्रति आभार प्रकट गर्दै प्रजिअ पाण्डेले भक्तपुर नपा ऐन, नियम र कानुन पालनामा अब्बल रहेको बताउनुभयो ।
भक्तपुरमा कोभिड १९ रोकथाम र नियन्त्रणका प्रयासहरु जनमैत्री भएको बताउनुहुँदै उहाँले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा तथा पर्वहरु जनताकै सहभागितामा व्यवस्थित तरिकाले सम्पन्न हुनु सकारात्मक भएको बताउनुभयो ।
बिदाइ कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने भक्तपुर नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्य र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रह्यो ।