शिक्षक र विद्यार्थीलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन सुरु
काठमाण्डौं, पुस २६ गते
बागमती प्रदेश सरकारले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालेको छ । सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराई पहिलो पटक पाँच दिने चलचित्र साक्षरता कार्यशालाको शुक्रबार समापन गरेको हो ।
समापन कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जीवनपयोगी सीप सिकाएर भबिश्यमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो । बिद्यालयस्तरमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न कार्यक्रमले मद्दत पुग्ने मन्त्री लामिछानेले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बनधी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई मन्त्री लामिछानेले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।













