वागीश्वरी माविको नयाँ भवन शिलान्यास
भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा नया“ भवनको शिलान्यास कार्तिक २१ गते शुक्रबार सम्पन्न भएको छ ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं अग्रज मोहनप्रसाद प्रजापतिले नया“ भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद प्रजापतिले वागीश्वरी माविको भौतिक पूर्वाधार निर्माणको अनुभव बताउ“दै विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले भौतिक निर्माणका साथै शैक्षिक गुणस्तर वृद्धि गर्नमा पनि उत्तिकै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

साथै उहा“ले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले कर्मचारी मानसिकतालाई त्यागी विद्यालयलाई आवश्यक भएको समयमा समय दिन उत्प्रेरित हुनुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भवन निर्माणमा संलग्न सबैले पारदर्शी रुपमा समयमै भवन निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
बागमती प्रदेश सरकारबाट नमूना घोषित भएको यस विद्यालयले गर्ने कार्यहरु पनि नमूना हुनुपर्ने भन्दै उहा“ले वागीश्वरी माविले नजिकै रहेका सामुदायिक विद्यालयलाई पनि स“गै अगाडि लगिरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका भरत श्रेष्ठ, प्रा.डा सिद्धिवीर कर्माचार्य, विद्यालयका संयोजक पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलगायतको उपस्थिति थियो ।














