भक्तपुरका २०३ सहित आज ५००८ जना कोरोना संक्रमित थपिए
भक्तपुर, असोज २४ गते
पछिल्लो २४ घण्टामा १९३२० जनाको पीसीआर परीक्षण गर्दा एक्कै दिन अहिलेसम्मकै बढी संक्रमित देखिएको छ । आज भक्तपुरका २०३ जना सहित ५ हजार ८ जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरु मध्ये काठमाण्डौ उपत्यकाका मात्रै २ हजार ६ सय ७२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । स्वास्थ्य मन्त्रालयको शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । संक्रमितहरु मध्ये आज १ हजार २ सय २९ जना कोरोना संक्रमणबाट निको भएपछि निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ भने अहिले सक्रिय कोरोना संक्रमित ३० हजार ८१८ आइसोलेसनमा रहेका छन् ।
आज थपिएका कोरोना संक्रमितहरु मध्ये काठमाण्डौ जिल्लाका मात्रै २ हजार १ सय रहेका थिए भने ललितपुर जिल्लाका ३ सय ६९ जना र भक्तपुरका मात्रै २ सय ३ जना थप संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।














