मध्यपुरका थप २ जनाको मृत्यु, देशभर ११७० संक्रमित
भक्तपुर, भाद्र २९ गते
मध्यपुर थिमीका २ जना सहित देशभर सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ५ का ७७ वर्षीय र वडा नम्वर ७ का ८१ वर्षीय दुईृ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएका हो । ७७ वर्षीय पुरुषको मुटुरोगको अपरेशन गर्नु अघि गरेको पीसिआर परीक्षणका क्रममा भाद्र २६ गते कोरोना संक्रमित पुष्टि भएको थियो भने अर्का वडा नम्वर ७ का ८१ वर्षीय मृतक बृद्धमा कोरोना संक्रमण देखिए पनि होम आइसोलेसनमै रहेको बेला स्वास्थ्यमा खराबी देखिएपछि अस्पताल गरिएको थियो । मेघा अस्पतालबाट ग्राण्डि अस्पताल लानेक्रममा उनको बाटोमै मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरका १६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने देशर भर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
काठमाण्डौ उपत्यकामा सोमबार ५१२ जना संक्रमित थपिएका छन् । भक्तपुरका २९ जना, ललितपुरका ४३ जना र काठमाण्डौका ४४० जनामा थप कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएको छ । भक्तपुरका ११ महिला र १८ पुरुष सहति २९ थप संक्रमित भएका हुन भने सोमबार एक्कै दिन देशभर १ हजार १७० जना थप संक्रमित भएका छन् । यो सँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेका छन् भने सोमबार एक्कै दिन ८७९ जना संक्रमित कोरोना मुक्त हुँदा कुल संक्रमित मुक्त हुनेको संख्या ३९ हजार ५७६ जना रहेका छन् भने सक्रिय संक्रमित अहिले १५ हजार ३९३ जना उपचारमा छन् ।













