सरकारी परियोजना विरुद्ध खोकनामा किसान आन्दोलन चकर्दै
ललितपुर, असार २० गते
खोकनाबासीले शनिवार पनि सरकारले बनाउन थालेको द्रूतमार्ग क्षेत्रमा रोपाइ गरेका छन् । रोपाइ गर्ने क्रममा प्रहरी र खोकनाबासीहरु बीच झडप हुँदा दुबै तर्फ केही घाइते भएको प्रत्यक्षदर्शीले जनाएको छ । यस वर्ष असार १५ गतेको राष्ट्यि धान दिवस तथा राष्ट्रिय रोपाई महोत्सवको दिन देखि रोपाईमा जुति रहेका खोकनाबासीहरुले यतिबेला देशको किसान आन्दोलनको उचाई बढाएको छ । सरकारी परियोजना कार्यान्वयनका लागि सेना समेत परिचालन गरेपछि हरेक वर्ष यसै गरी डोजरका बीच रोपाई गर्दै आएका खोकनाबासीहरुले यस वर्ष बृहतरुपमा रोपाई थालेका हुन । यसलाई किसान आन्दोलनको रुपमा विश्लेषण गर्दै भक्तपुर, काठमाण्डौ, ललितपुर लगायत विभिन्न क्षेत्रका राजनैतिक, सामाजिक, साँस्कृतिक क्षेत्रका समुदायको पनि बाक्लो उपस्थिति देखिएको छ ।

कृषि प्रधान देशमा कृषिले संस्कृति पहिचान जगेर्णा गर्दै आएका खोकनाबासीहरुले आज फेरी आफ्नो अस्तित्व र सभ्यताका लागि संघर्ष गर्न बाध्य भएका हुन् । पुस्तौ देखि खेत जोत्दै आएका तर हातमा लालपूर्जा समेत नभएका किसानहरुलाई नत उचित मुआब्जा दिन जानेको छ न त किसानका समस्यालाई बुझ्न नै खोजेको छ स्थानीयको भनाई छ । विकासको नाममा सेना र प्रहरी परिचालन गरेर खोकनाबासीको कृषि कर्म र सांस्कृतिक सभ्यतालाई मात्र ध्वस्त पार्न खोजेको छ यीनै खोकनाबासीहरुको गुनासो र समस्याले आज किसान आन्दोलनको रुपमा चर्कन थालेको छ ।

कृषिले संस्कृति जर्गेना गर्दै आएका खोकनाबासीहरुले ऐतिहासिक एवं धार्मिक तथा जात्रा पर्वले भरीपूर्ण खोकना क्षेत्रका उर्वरा भूमिलाई सरकारले द्रुटमार्ग बनाउने भन्दै विकासको नाममा बिनास गर्न लागेको भन्दै बिरोध गर्दै आएका हुन । खोकनाबासीहरुको जात्रा पर्व र सम्पदा संरक्षण गर्ने आयस्ताको रुपमा रहेका यी नै जग्गा जमिन माथि सरकारले कब्जा गरी नेवार समुदायको संस्कृति र सम्पदा नष्ट गर्र्न खोजेको गम्भिर आरोप पनि स्थानीयले लगाउँदै आएका हुन । काठमाण्डौ र ललितपुरमा चल्ने बर्षाका देवता मच्छिन्द्रनाथको लामो जात्रा होस् या सिकाली जात्रा नै होस् खोकना र बुङाको सभ्यता यी नै खेति किसानीले संरक्षण हुन्दै आएको स्थानीय असोक डंगोलको भनाई छ ।
अधिकासं कृषकहरुको हातमा लालपूर्जा समेत नभएको अवस्थामा किसानले जोत्दै आएको जमिन सरकारले सितैमा लिन लागेको उहाँको बुझाइ छ । नेवार समुदायको जात्रा पर्व र संस्कृति एवं सभ्यता र रोजी रोटीमाथि सरकारी हस्तक्षेप भएको भन्दै विरोध गर्दै आएका खोकनाबासीहरुले आज सुखा जमिनमा खेत जोत्दै रोपाइ समेत गरेका छन् । खोकनाबासीहरुको रोपाई अभियानमा उपत्यकाका विभिन्न क्षेत्रका सम्पदा प्रेमी समुदायले पनि साथ दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको हस्तक्षेप बीच स्थानीय खोकनाबासीहरुले भने खेत जोत्दै सामुहिक रोपाई समेत गरेका हुन ।
सरकारी परियोजनाको नाममा बाँझो रहेको आफ्नै खेतहरुमा रोपाइ गर्न पुगेका खोकनाबासी र प्रहरी बीच झडप हुँदा प्रहरीले शनिबार ७ वटा अश्रु ग्यास प्रहार गरेको बताइएको छ । प्रहरीसँगको झडपमा काठमाण्डौ उपत्यका सडक विस्तार विरोध संघर्ष समितिकी नेतृ विद्या श्रेष्ठ समेत घाईते भएकी छिन । खोत जोत्ने किसानलाई हस्तक्षेप होइन देशको सिमा सुरक्षा गर्न सिमा क्षोत्रमा जाउँ भन्दै प्रहरीसँग खोकनाबासीहरुले प्रहरीसँग प्रतिवाद गरेका छन् । असार १५ गतेलाई सरकारले घोषणा गरेको राष्ट्यि धान दिवसको रुपमा राष्ट्यि रोपाइ महोत्सव मनाएको दिनमा पनि खोकनावासीहरुले यसै गरी प्रहरीसँगको मुठभेड बीच सो क्षेत्रमा रोपाई गरेका थिए ।
कोरना भाइरसको जोखिमको बेला खालि जमिन नराख्न सरकार आफैले आह्वान गरेको बेला खोकनाबासीहरुले आफ्नै जमिनमा पनि रोपाई गर्न समेत प्रहरी हस्तक्षेप भएपछि कृषि प्रेमी तथा संस्कृतिप्रेमीहरुको बाक्लो उपस्थितीमा खोकनाबासीहरुले शनिवार पनि रोपाइ गरेका छन् । सरकारको परियोजना सुरु भए देखि हरेक वर्ष त्यहाँ यसै गरी किसान र प्रहरी बीच भनाभन, थेलमथेला, डोजर आंतक बीच कृषकहरुले आफ्नो आवाज बुलन्द गर्दै आएको छ । यसलाई बुद्धिजीवीहरुले एक किसिमको किसान आन्दोलनको रुपमा लिन थालिएको छ ।

करिव दुई हजारको संख्यामा सहभागि रहेका महिला तथा बालबालिकाहरु बीच प्रहरीले अश्रुग्यास प्रहार गरेकोे खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले बताका छन् । उहाँले कोरना भाइरसको विश्वव्यापी जोखिममा भोक भन्दा परियोजना ठूलो नभएको जनाएको छन् । कोरनाको त्रासमा घरभित्र थुनेर खोकनाबासीहरुको अमूल्य जमिनमा माटो पुर्ने काम भएपछि खोकनाबासीहरु रोपाईमा उत्रेको उहाँले जनाए । खोकनामा बाहिरी चक्रपथ, काठमाण्डांै तराई दु्रतमार्ग, १३२ केभी प्रशारणलाईन, स्मार्ट सिटी लगायतका योजना सरकारले अगाडी सार्दा खोकनाबासीहरु आन्दोलनमा रहेका हुन् । विकासको नाममा साँस्कृतिक शहर र नेवार जातिमाथि अतिक्रमण गर्न नहुने भन्दै खोकनाबासीहरु चरणबद्ध आन्दोलमा रहेका हुन । एउटै ठाउँमा विभिन्न सरकारी परियोजना सञ्चालन गर्दा खोकनाबासीहरुले आफ्नो जीविकोपार्जन, धर्म, संस्कृति, जात्रा पर्व र सभ्यता एवं मौलिकता गुम्ने भन्दै सरकारी कदमको बिरोध गर्दै आएका छन् ।














