सम्पदा संरक्षणमा अस्तित्वको खोजी !

सम्पदा संरक्षणमा अस्तित्वको खोजी !

भक्तपुर, असार १९ गते
भक्तपुरको विश्व प्रसिद्ध ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य बिहिवार सम्पन्न गरेको छ । ३१८ वर्ष पूरानो विश्व सम्पदा सूचीमा सूचीकृत यस सम्पदाको संरक्षणमा भक्तपुरबासीहरुको अतुलनीय र उदाहरणीय सहयोग एवं जनश्रमदान भएको छ । स्थानीय जनताको अपनत्व हुने गरी भक्तपुर नगरपालिकाले गरेको यो जीर्णोद्धारले सम्पूर्ण सम्पदाप्रेमी र सरोकारवाला निकायहरुको ध्यानाकर्षित भएको पक्कै हुनु पर्छ । मन्दिरको पाँचौ तल्ला र सम्पूर्ण झिंगति र्फेन २ हजार २ सय १२ डकर्मी, ३ हजार २ सय भन्दा बढी स्वयंसेवकले जनश्रमदान गर्दा करिव ४० लाख र्खच भएको उपभोक्ता समितिले जनाएको छ । जीर्णोद्धारमा १२ लाख भन्दा बढी आर्थिक सहयोग एवं अन्य भौतिक सहयोगहरु समेत जुताएको छ । नगरवासीहरु ऐतिहासक मन्दिरको जीर्णोद्धारमा श्रमदान गर्न पाउँदा वा केही सहयोग गर्न पाउँदा दंग र प्रफुलित छन् । स्वतस्फुर्त सहयोग र श्रमद्धानको माहोलमा ङातापोल (पाँच तल्ले) जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न भएकोे छ ।

ङातापोल (पाँच तल्ले) मन्दिर जति नेपाली मौलिक कला संस्कृति र प्रविधिले धनी छ त्यति नै विश्वभर चर्चित पनि छ । संसारभर देश चिनाउने महत्वपूर्ण धरोहरको रुपमा रहेको छ । यसको संरक्षण र प्रवर्धनमा स्थानीय समुदाय एवं कला संस्कृतिकर्मीहरुको महत्वपूर्ण योगदान जीर्णोद्धारको क्रममा देखिएको छ । गत मंसिर महिना देखि असारसम्मको जीर्णोद्धार कार्यमा भएका गतिविधिहरु र भक्तपुर नगरपालिकाको सोच र दृष्टिकोणले देशभरका लागि मात्र होइन विश्वभरका कलाप्रेमीहरुको लागि प्रेरणा र उदाहरण बनेको छ । आफ्नै धरातलमा उभेर भक्तपुरबासीहरुले विश्व सम्पदामा रहेको ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार भएको छ ।

२०७२ सालको भूकम्पले प्रभावित अधिकास सम्पदा पुननिर्माणमा विदेशी सहयोग मात्र होइन, विदेशी सरकार र संघ संस्थासँग जोडेर काठमाण्डौको बसन्तपुर दरवार, दरवार हाइस्कुल समेत विभिन्न देशको सहयोगमा पुनर्निर्माण र जिर्णोद्धार भएका छन् तर त्यस मध्ये भक्तपुरको ऐतिहासिक ङातापोल (पाँच तल्ले) मन्दिरको जीर्णेद्धार जनस्तरबाट सम्पन्न भएको छ । यसो भन्नुको अर्थ विदेशी सहयोगको उपेक्षा होइन नत असहयोगको उदाहरण हो । चाहेको भए ङातापोल (पाँच तल्ले) मन्दिरसँग आफ्नो नाम जोड्न धेरै दातृ संस्था, व्यक्ति व्यक्तित्वहरु लालाहित हुन्थे होला । अहिले जसरी ४० लाखको खर्च र जनश्रमद्धानबाट जीर्णोद्धार भयो यो काम यदि दातृ निकायको सहयोगबाट गरेकोे भए ४० करोड भन्दा कमले हुन्थेन होला सायद ।

यसले केही सम्पदा व्यवसायीले आफ्नो नाफा गुमाएको होला तर सम्पदा संरक्षणमा भक्तपुरका समुदायले सम्पदा संरक्षणको लागि शिक्षा र प्रेरणा दिएको छ । भूकम्पले उठ्न नसकेका समुदायले कोरना भाइरसको जोखिमका बाबजुत पनि जनश्रमदानबाट ङातापोल (पाँच तल्ले) मन्दिर जीर्णोद्धार भएको छ । यस कार्यमा भक्तपुरका किसान बर्गको महत्वपूर्ण सहभागिता र योगदान छ । भक्तपुर नगरका टोल टोल र वडा वडाका समुदायको जनश्रमदानबाट विश्व प्रसिद्ध ङातापोल (पाँच तल्ले)ले फेरी पनि ऐतिहासिक रुपले जीवन्तता पाएको छ । भूकम्पले संकटमा परेको सम्पदाको अस्तित्व संरक्षणमा भक्तपुरका स्थानीय समुदाय आफै जुतेको यो एक ऐतिहासिक क्षण हो ।