भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सर्वसाधारणहरुलाई नागरिकलाई भीडभाड हुने गरी कुनै औपचारिक–अनपौचारिक सभा समारोह एवं धार्मिक–साँस्कृतिक तथा पारिवारिक उत्सव आदिको आयोजना नगर्न आग्रह गरेको छ ।
त्यस्तै प्रशासनले नागरिकलाई भीडभाड हुने स्थान र कार्यक्रममा समेत सहभागी नहुन आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै प्रशासनले कुनै पनि प्रकारको उत्सव, मेलाका कार्यक्रम आयोजना नगर्न आग्रह गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुमकला पाण्डेले जानकारी दिइन् ।
उनले विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चेतावनी दिएको अवस्थामा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन् । पाण्डेले बिना कारण भीडभाडमा नजान र घरभित्रै बस्न तथा जानै पर्नेमा भएमा मास्कको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
उनले होलीसमेत मर्यादित भएर खेल्न आग्रह गरेकी छन् ।
प्रशासनले आज कोरोना भाइरससम्बन्धी जनचेतनाका लागि सुरक्षा निकाय, भक्तपुर अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधिहरुलाई आग्रह गरे ।
यसैगरी कोरोना भाइरसको कारण देखाउँदै व्यापारीहरुले कालोबजारी हुन नदिन आजैबाट निरन्तर बजार अनुगमन गर्ने र कालोबजारी गरेको पाइएमा कडा भन्दा कडा कारर्बाही गरिने सिडियो पाण्डेले बताइन् ।
उनले भक्तपुर अस्पतालमा २ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको समेत बताइन् ।














