भक्तपुर, माघ २२गते
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले भक्तपुरको देकोचास्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु गरेको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको उद्घाटन गर्नु हुँदै शैक्षिक प्रदर्शनीको पनि सुरु गरेहा हुन । उत्कृष्ठ विद्यार्थीहरु तथा १० वर्ष निरन्तररुपमा काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई सम्मानित गर्नु हुँदै अध्यक्ष विजुक्छेले विद्यार्थीहरुलाई अध्ययनशील, उत्साहित, अनुशासित र व्यवहारिक बनाउन शिक्षक, अभिभावकले थप मेहनत गर्नुपर्नेमा जोड दिनु भयो । अमेरिका जस्तो देशमा करोडौ गैर आप्रवासी जनता रहेको र तिनीहरुलाई तह लगाए बिद्रोह हुने भएकाले अमेरिकी सरकारले केही गर्न नसक्ने भन्दै तल्लो स्तरको काम विदेशबाट आउनेलाई गराउने र माथिलो कामको रुपमा अरु देशहरुमा सेना परिचलन गरी अमेरिकी साम्राज्य फैलाइ रहेको विश्लेषण गर्नु भयो । चीनबाट फैलिएको कोरना भाइरस बारे चर्चा गर्दै अध्यक्ष विजुक्छेले विश्वका धेरै मुलुकहरुमा जैविक जिवाणु आक्रमणबाट आममानिसको हत्या समेत गरेको घटना स्मरण गर्नु भयो ।


प्रदर्शनीमा कलेजमा प्लस टुदेखि माष्टर्ससम्मका विद्यार्थीका स्टलहरु राखिएका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा संकायमा कक्षा ११ देखि स्नातकोतर तहसम्मका विद्यार्थीले बनाएका विभिन्न प्रदर्शनी गरिएका हुन् ।
कलेजका प्राचार्य रुपक जोशीले करिव १० हजार विद्यार्थीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखे । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिव आठ हजारले अवलोकन गरेको उनले स्मरण गरे । प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर अनि भक्तपुरलगायत उपत्यकाबाहिरका बनेपा, पनौती, धुलिखेललगायतका स्कुल कलेजहरुबाट पनि अवलोकनकर्ता विद्यार्थी आउने उनले जनाए । अवलोकन प्रवेश निःशुल्क गरिएको छ ।
कार्यक्रममा बोल्दै सांसद प्रेम सुवालले मेडिकल कलेजहरुको मनोमानीले विद्यार्थीहरु ठगिमा परिरहेको भन्दै अभिभावक र विद्यार्थीहरु अन्यौल रहनुपरेको विचार राख्नु भयो । देशका ७१ स्थानमा भारतबाट नेपाली भूमि ६० हजार हेक्टर भन्दा बढी भूमि अतिक्रमण गरिरहँदा पनि नेपाल सरकारले सिमा सुरक्षा गर्न नसकेको औल्याउनु भयो । चीनबाट फैलिएको नोबेल कोरना भाइरस नियन्त्रणमा चीन सरकारले गरेको प्रयास प्रशंसायोग्य रहेको भन्दै सांसद सुवालले संकटको साथी नै सच्चा साथी भएको बताउनु भयो ।बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले कम्युनिष्ट सरकार भनिए पनि कम्युनिष्ट सिद्धान्त अनुसार काम नगरेकाले ओली सरकार आलोचित रहेको औल्याउनु भयो भने अर्का सांसद सृजना सांयजूले एमसीसी देशको सार्वभौमिकता हित बिपरित भएको भन्दै यसको बदर हुनुपर्ने जिकिर गर्नु भयो
भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्यि परीक्षा बोर्डका अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशी लगायतले गुणस्तरीय र व्यबहारिक शिक्षा बारे चर्चा गरेका थिए भने ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठले कलेजहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो शैक्षिक
कलेजको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी पनि पुरस्कृत भएका थिए । कलेजमा प्लस टूदेखि माष्टर्सँसम्मका पाँंच वटै संकायका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । साथै वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका उत्कृष्ट टिमहरु पुरस्कृत भएका थिए ।
यसअघि प्रदर्शनीका लागि कलेजका प्राचार्य जोशीको संयोजकत्वमा एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको थियो । वार्षिकोत्सव मुल उपसमिति, प्रचारप्रसार, वुलेटिन प्रकाशन, मञ्च तथा टेण्ड व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापनलगायतका २१ वटा उपसमितिहरु गठन गरिएका थिए ।












