भक्तपुर नगरमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन उद्घाटन
२०७६ माघ २२गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन आउटलेट पानसमा दीप प्रज्ज्वलन र रिबन काटी बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सरकारी बैंकहरु नाफा–घाटा भन्दा सेवाको दृष्टिले सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्नुहुँदै नगरपालिकाको आर्थिक कारोबार सरकारको स्वामित्वमा रहेको नेपाल बैंकबाट गर्दै आइरहेको बताउनुभयो ।

उहाँले राज्यको स्वामित्वमा रहेका संस्था कमजोर हुनु भनेको राज्य असफल हुनु हो भन्नुहुँदै उहाँले सिंहदरबारभित्र विदेशी लगानीकर्ताले संचालन गरेका बैंकहरु सञ्चालन गरिनु चिन्ताको विषय हो भन्नुभयो ।
नेपाल सरकारको बैंक, वित्तीय संस्थाहरु निजीकरण गरिरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक पूर्ण नेपाल सकाररको स्वामित्वमा सञ्चालन हुन खुशीको कुरा हो भन्नुहुँदै पर्यटकहरुको निम्ति सहज ठाउँहरुमा एटिएम मेसीन राख्ने व्यवस्थाले नेपाल भ्रमण वर्षलाई अगाडि बढाउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।
जनताको विश्वास जितेर सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताउनुहुँदै प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित ख्वप ई. कलेज देशकै सर्वोकृष्ट कलेज घोषित हुन सफल भएको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले एटिएम मेसीन स्थापना गरी सेवाग्राही र आगन्तुकलाई विशेष सहयोग पुग्ने बताउनुहुँदै आगामी दिनमा यसले दिने सेवामा कुनै किसिमको गुनासो नआउने गरी सञ्चालन गरिनेमा विश्वास व्यक्त गर्नुभयो ।


राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्व भएको सर्वाधिक नाफा कमाउन सफल बैंकको रुपमा रहेको बताउनुहुँदै बैंकले लगानीको प्रतिफल अनुरुप १२ प्रतिशत लाभांश वितरण गरिरहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय वाणिज्य बैंक वित्तिय संस्था भएर पनि सामाजिक उत्तरदायित्व बहन गरी देशब्यापी रुपमा अगाडि बढिरहेको बताउनुहुँदै भक्तपुरको कमलविनायक शाखा खोलेर सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले सरकारको पूर्ण स्वामित्व भएको बैंकको रुपमा रहेको र नेपाल प्रहरीको खाता एनसिबी मार्पmत सञ्चालन भएको हुँदा महानगरीय प्रहरी परिसर अगाडि एटिएम सञ्चालन गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका सभापति सोनी श्रेष्ठले प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभयो ।