प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज दिउँसो एक बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिने घोषणा गरेपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरको अध्यक्षतामा दोस्रो बैठक चार बजे बसेको थियो । उक्त बैठकमा ठाकुरले शिवमायाले दिएको राजनीनामा पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि उहाँले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो तीन बजेका लागि बोलाउनुभएको छ । त्यही दिन सभामुखको निर्वाचन हुनेछ । नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सार्ने निर्णय गरीसकेको छ ।
प्रतिनिधिसभालाई नेतृत्वविहीन हुनदिन राजीनामा ढिलो दिएको तुम्बाहाम्फेको भनाइ ।।
उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताउनुभएको छ । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पार्नुभयो । संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाएकाले आफूले आज राजीनामा दिएको उहाँले बताउनुभयो । राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको जानकारी गराउँदै तुम्बाहाङ्फेले आफूले दलीय स्वार्थबाट बाहिर रहेर जिम्मेवारी सम्हालेको दावी गर्नुभयो । उहाँले दलको निर्देशनबाट प्रतिनिधि सभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने विषयमा आफू सफल भएको दाबी गर्नुभयो । आजका दिनसम्म प्रतिनिधिसभालाई आफूले रिक्त रहन नदिएको उहाँको भनाइ छ । मुलुकमा पितृसत्ता सोँच मात्रै नभई संस्थागत रूपमा जरा गाडेर बसेको पनि उहाँले टिप्पणी गर्नुभयो । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी तुम्बाहाम्फेको छ । अब मन्त्री बन्नुहुन्छ त भन्ने प्रश्नमा भने अहिलेसम्म कुनै सहमति नभएको उहाँको भनाइ छ ।












