भक्तपुर, माघ ४ गते
समुदायमा अपराधिक घटना न्यूनिकरण र हुन नदिनकालागि समुदाय प्रहरी साझेदारी कायक्रम अन्तर्गत शनिवार ओमकारेश्वर टोल समिति गठन गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १०का वडा सदस्य ज्ञानकुमार माकजुको संयोजकत्वमा १७ सदस्य सो समिति गठन गरेको हो । कमलविनायक, पाइपलाई, भत्केको पाटी क्षेत्रमा अपराधीक घटनाहरु बढ्न थालेको महसुस गर्दै स्थानीय समुदायको सक्रिय सहभागितामा सो समिति गठन गरेको हो । महानगरीय प्रहरी बृत्त भक्तपुरका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले सो अवसरमा समुदाय प्रहरी साझेदारीको विकास, भूमिका र महत्व एवं अवधारणा बारे प्रकास पार्दै समुदायको सुरक्षाको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम टोल टोलमा गठन भईरहेको उल्लेख गर्नु भयो । टोलमा शान्ति सुरक्षा कायम गर्न समाजले प्रहरीलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनु भयो । बालबालिकाहरुलाई प्रहरी देखाएर तर्साउने अभिभावकहरुको व्यवहारले प्रहरी देखि डराउने र प्रहरीसँग टाढा बस्ने गरेकाले पनि १२ देखि १९ वर्षका बालबालिकाहरु बढी अपराधिक गतिविधिमा संलग्न रहेको देखिएको बताउनु भयो । अपराधपछि कानुनी कार्वाही गर्नेमा भन्दा अपराधिक घटना हुन नदिनकालागि समुदायले भूमिका खेल्नुपर्नेमा जोड दिन्दै उहाँले लागु पदार्थ दुव्र्यसनी, सामाजिक संजालको दुरुपयोगले गर्दा आजभोलि बढी अपराधिक घटना हुने गरेको बताउनु भयो । दुब्र्यसनीमा फसे पछि उम्किन मुस्किल पर्ने र त्यस्तो व्यक्ति बढी अपराधिक गतिविधिमा सक्रिय रहेने देखिएकोले बालबालिकाहरुलाई लागु औषधबाट टाढा राख्नुपर्नेमा जोड दिनु भयो । डेरामा बस्ने अपरिचित र बाहिरबाट आएका ब्यक्तिहरुले बढी अपराधिक गतिविधिमा सक्रिय रहने गरेकाले कोठा भाडामा दिदा कोठामा बस्नेको नागरिकता लगायत परिचय घरधनीले लिइ राख्नुपर्नेमा जोड दिनु भयो । टोलमा अपराधिक तथा असामाजिक घटना हुन नदिन समुदाय प्रहरी साझेदारी आवश्यक भएको भन्दै गलत नियतले गर्ने गतिविधि नै अपराध हुने भएकाले टोलबासीमा अपराध पछि हुने कानुनी कार्वाही बारे पनि जानकारी दिनु भयो ।

समितिका संयोजक ज्ञानकुमार माकजूले बालबालिकाहरुको भविष्य राम्रो बनाउन अपराधिक गतिविधिबाट टाढा राख्नुपर्नेमा जोड दिदै अपराधिक गतिविधि र लागु औषधमा बालबालिका लाग्यो भने समाजमै नकारात्मक प्रभाव पर्ने भएकाले समुदाय सचेत हुनुपर्नेमा जोड दिनु भयो । बालबालिकाको भविष्य राम्रो बनाउन टोलमा शान्ति सुरक्षा हुनुपर्नेमा जोड दिदै समुदाय प्रहरी साझेदारी भएपछि टोलमा हुने घटना न्यूनिकरण गर्न टोलबासी मिलेर काम गर्न सकिने विचार व्यक्त गर्नु भयो भने ओमकारेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतवहादुर खड्काले कमलविनायक क्षेत्रमा नयाँ बस्ती बिस्तार भइरहेको प्रसंगमा टोलको शान्ति सुरक्षा कायम गर्न समुदाय प्रहरी साझेदारी आवश्यक भएकोमा जोड दिनु भयो । समाजमा शान्ति सुरक्षा कायम भयो भने समाज सभ्य हुने भन्दै उहाँले ढिला भएपनि समुदाय प्रहरी साझेदारी समिति गठन गर्न सकेकोमा खुसि व्यक्त गर्नु भयो । समाजमा सामाजिक कार्य गर्न चाहने व्यक्तिहरु जागरुक भएर टोलमा शान्ति सुरक्षा कायम गर्न सकिने विचार व्यक्त गर्नु भयो ।

इष्ट प्वाइन्ट स्कूलका प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले भक्तपुर शैक्षिक गणतव्यको रुपमा विकास भई रहेका बेला लागु औषध र अपराधिक घटना बढ्दा र सामाजिक सञ्जालको बढी प्रयोगले बालबालिकाको पढाई खस्कदै गरेकोमा चिन्ता व्यक्त गर्नु भयो । बालबालिकालाई राम्रो शिक्षा दिन सकेमात्र पनि समाजमा अपराधिक घटना न्यूनिकरण हुने विचार व्यक्त व्यक्त गर्नु भयो भने कार्यक्रम सञ्चालन गर्दै समाजसेवी मदनबहादुर थापाले टोलमा घटि रहेका घटनाहरुलाई मध्यनजर गरेर समुदाय प्रहरी साझेदारी समिति गठन गर्न आवश्यक भएको भन्दै समितिमा बसेका पदाधिकारीहरुले प्रहरी र समुदायसँग मिलेर टोलमा शान्ति सुरक्षा कायम गर्ने विश्वास व्यक्त गर्नु भयो । रेडियो जनसञ्चारको तर्फबाट सुरेशप्रसाद सायंजूले समाजलाई आर्दशउन्मुख बनाउन सामाजिक अभियान सञ्चालन गर्नुपर्ने, गल्तिकमजोरी औल्याएर गलत गतिविधि हुनबाट सचेत गराउन सञ्चार माध्यमले भूमिका खेल्न सक्ने विचार राख्नु भयोे ।












