भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल ११ स्थान माथि उक्लिदै  ११३ स्थानमा 

काठमाण्डौ, माघ ९ गते । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहिवार काठमाण्डौमा सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचाकङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिदै १ सय १३ औँ स्थानमा पुगेको देखाएको छ । गत वर्ष नेपाल १२४ औं स्थानमा रहेको थियो भने त्यो भन्दा अघिलो वर्ष १२२ औं स्थानमा थियो । २ स्थान झर्दा नेपालमा भ्रष्टाचार बढेको विश्लेषण गरेको थियो । यो हिसावले यस वर्ष भ्रष्टाचारमा ११ स्थान सुधार भएको संकेत गरेको छ । विश्व बैङ्कसहितका ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १ सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अङकसहित १ सय २४ औं स्थानमा थियो । नेपालले भ्रष्टाचारको सूचकाङ्कमा केही सुधार गरे पनि सबै भन्दा बढी भ्रष्टाचार हुने २० मुलुकभित्र परेको छ । १ सय ८० देशमध्ये ९ अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको छ । त्यसैगरी ८९ अङ्क प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्कमा १ सय अङ्कले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो । नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचार न्यून देखिएको रिपोर्टले देखाएको छ । अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो ।

सो रिपोर्ट बिहिवार काठमाण्डौंमा टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले नेपालमा सार्वजनिक गरेको थियो । सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सविता भण्डारी बराल, महासचिव मुकुण्डबहादुर प्रधान, कार्यकारी निर्देशक आशिस घिमिरे, सञ्चारकर्मी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।