भक्तपुरमा ११ दिने दशै मेला सुरु
भक्तपुर, असोज ९ गते
विजया दशमी २०८१कालागि भक्तपुरको सल्लाघारीमा दशै मेला सुरु भएको छ । ‘भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ नाम गरेको सो मेला भक्तपुर चेम्वर अफ कमर्शको आयोजनामा आज देखि सुरु भएको हो । असोज १९ गतेसम्म आयोजना हुने सो मेलाको आज नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोह बीच उद्घाटन गरेका हुन । १ सय ५० वटा व्यापारिक स्थल सहित साँस्कृतिक कार्यक्रम, बाल उद्यान तथा खेल मेला सहित महोत्सवको अयोजना गदै चेम्वरले सर्वसाधारण जनताका लागि दशैमा सस्तो बजारमा किनमेल गर्ने अवसरको रुपमा मेला आयोजना गरेको जनाएको छ ।

चेम्वर भक्तपुरका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा बोल्दै उपप्रधान मन्त्री सिंहले देशको आर्थिक मन्दिलाई उकास्न व्यवसाय प्रवर्धनमा जोड दिनुपर्ने धारणा राख्नु भयो । कार्यबाहक प्रधानमन्त्री समेत रहेका सिंहले राजनैतिक सहमतिले मात्रै आर्थिक मन्दि हटाउन सकिने देखेर एमाले कांग्रेसको सत्ता समिकरण बनेको भनाई राख्नु भयो । स्थानीय उत्पादनलाई प्रर्वधन गर्न सके रोजगार पनि सृजना गर्न सकिने चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले भक्तपुरको जुजु धौ जस्तो उत्पादनले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान राख्न सकिने बताउनु भयो ।
सविगत ३ वर्ष देखि आर्थिक मन्दिले व्यवसायीहरु समेत मारमा परेको चर्चा गर्दै सो अवसरमा चेम्वर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक मन्दीले देशको आयश्रोत खस्केर समग्र अर्थतन्त्र नै दामाडोल भइरहेको बेला उद्यमीलाई उत्साहित गर्ने नीति तर्जुमा गर्न सके मात्रै देशको अर्थतन्त्र उकास्न सक्ने धारणा राख्नु भयो ।
१० करोड भन्दा बढी व्यापार गर्ने लक्ष्य सहित आयोजित सो महोत्सवमा चेम्वर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्ल, केन्द्रीय सदस्य रोशन भ्योद्य, सांसद दुर्लभ थापा, सन्तोष परियार, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सहितका अतिथिहरुको सहभागिता थियो । सो मेलाको उद्घाटन समारोह जनसञ्चार टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।
















