आगामी आवका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत
सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब सात अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८६ अर्ब ७१ करोड अर्थात् २३.५ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरणतर्फ विनियोजन बजेटमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित रु तीन खर्ब २५ अर्ब ७४ करोड अर्थात ८४.२ प्रतिशत र पूँजीगततर्फ रु ६० अर्ब ९७ करोड अर्थात् १५.८ प्रतिशत् छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट रु ६३ अर्ब ३७ करोड बेहोरिने अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा न्यून हुने रु पाँच खर्ब ५९ अर्ब ३० करोडमध्ये वैदेशिक ऋणबाट रु तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट रु दुई खर्ब ५० अर्ब बेहोरिने उहाँले बताउनुभयो ।
आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण
सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आव २०७८÷७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि पुरानै लयमा फर्किने विश्वासका आधारमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीति दरलाई पनि ६.५ प्रतिशतमा सीमित राख्ने र बजेट कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताउनुभयो । उहाँले अहिलेको प्रतिकूल परिस्थितिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेटको कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । —













