ख्वप कलेजमा बी.ए.एस.डब्लु प्रथम वर्षमा अध्ययतरत विद्यार्थीहरुको रिपोर्ट प्रस्तुती तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

ख्वप कलेजमा बी.ए.एस.डब्लु प्रथम वर्षमा अध्ययतरत विद्यार्थीहरुको रिपोर्ट प्रस्तुती तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

पुरञ्जनी दुवाल

२०७७ फागुन १२ गते,
भक्तपुर नगरपालिकाका प्रमुख एवम ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा स्नातक तहमा बी.ए.एस.डब्लु विषय लिई अध्ययनरत विद्यार्थीहरुको २०७७ माघ १५ गतेदेखि २० गतेसम्म भएको ‘छिमेकी शिविर २०७७’ को रिपोर्ट प्रस्तुती तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिई अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिन’ भयोे । छिमेकी शिविरमार्फत विद्यार्थीहरुले भक्तपुरको शिक्षा, स्वास्थ्य, जनजीवन र विपद् व्यवस्थापनबारे ज्ञान हासिल गर्ने मौका पाएको बताउनुहुँदै कुनै पनि विषयमा ‘सय पटक पढ्नु र एक पटक हेर्नु’ बराबर रहेको बताउनुभयो । भक्तपुरको शैक्षिक विकाससँगै सामाजिक परिवर्तन र शिक्षामा छात्राहरुको संख्या पहिला भन्दा बढिरहेको सकारात्मक पक्ष भन्दै विद्यार्थीहरुले आफूमा भएको घमण्ड त्यागेर व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ।
भक्तपुर नपाद्वारा सञ्चालित कलेज र अरु कलेजको शैक्षिक विशेषता र भिन्नताबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले राष्ट्रिय—अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्ने उद्देश्य बाकेको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले विद्यार्थीहरुको मागअनुसार ख्वप कलेजमा नयाँ नयाँ विषयहरु थप गर्दै लगिरहेको जानकारी दिनुहुँदै आगामी दिनहरुमा पनि आवश्यक विषयहरु थप गर्ने विषयमा लागिरहेको बताउनुभएको छ।सोही कार्यक्रममा ख्वप कलेजका सहप्राचार्य डा. राजेशकुमार श्रेष्ठले सामाजिक विषय अध्ययनको उद्देश्य समाजसँग प्रत्यक्ष सहभागिता जनाएर सामाजिक हितको निम्ति काम गर्नुपर्ने र विद्यार्थीहरु सामाजिक विकृतिविरुद्ध डटेर लाग्न आग्रह गर्नुभयो ।


कार्यक्रममा बीए. र बी.ए.एस.डब्लुका इन्चार्ज कमिनिका न्याइँच्याइँ र फिल्ड प्रशिक्षक सुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वप कलेजमा स्नातक तह बी.ए.एस.डब्लु प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर जिल्लास्थित भक्तपुर नपा, मध्यपुर नपा, सूर्यविनायक नपा र चाँगुनारायण नपाको सामाजिक कार्यबारे गरिएको शिविरको रिपोर्ट प्रस्तुतीकरण देखाएका थिए ।

सो कार्यक्रमको उद्घोषण बी.ए.एस.डब्लु प्रथम वर्षका विद्यार्थी पुरञ्जनी दुवालले गर्नु भएको थियो ।