क्रिकेट, संगीत र नेवारी संस्कृतिलाई एउटै मञ्चमा जोड्दै भक्तपुरमा ‘NPL Grand Final Screening & Music Night’ आयोजना हुँदै

क्रिकेट, संगीत र नेवारी संस्कृतिलाई एउटै मञ्चमा जोड्दै भक्तपुरमा ‘NPL Grand Final Screening & Music Night’ आयोजना हुँदै

भक्तपुर। नेवारी मौलिक खानपान, कला, संस्कृति र आतिथ्यको प्रवर्द्धन गर्दै क्रिकेट, संगीत तथा सांस्कृतिक मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले भक्तपुरमा ‘NPL Grand Final Screening & Music Night’ आयोजना हुने भएको छ।

नेवा ननीको आयोजनामा आगामी मंसिर ४ गते भक्तपुरमा विशेष कार्यक्रम हुन लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय CØBWEB BAND को विशेष लाइभ सांगीतिक प्रस्तुति रहनेछ। साथै नेपाल प्रिमियर लिग (NPL) क्रिकेटको फाइनल खेलको प्रत्यक्ष प्रदर्शन (स्क्रिनिङ) समेत गरिने आयोजकले जनाएको छ।

क्रिकेटप्रेमी दर्शकले आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्दै फाइनल खेलको रोमाञ्चक अनुभव लिन पाउनेछन् भने खेलपछि हुने सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

नेवा ननीको सोच केवल नेवारी परिकार र खानपानमा सीमित नरही नेवारी मौलिकता, नेपाली कला, संगीत, खेलकुद र सामाजिक मनोरञ्जनलाई एउटै स्थानमा जोडेर पहिचानयुक्त गन्तव्यका रूपमा विकास गर्ने रहेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार कुनै पनि व्यवसायको सफलता आर्थिक कारोबारमा मात्र सीमित हुँदैन। यसले समाज, संस्कृति, स्थानीय समुदाय र नयाँ पुस्ताका लागि सकारात्मक योगदान दिन सक्नुपर्छ। यही सोचअनुरूप नेपाली संगीतकर्मीलाई दर्शकमाझ जोड्ने, खेलप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने र नेवारी खानपान तथा आतिथ्यलाई नयाँ पुस्तामाझ परिचित गराउने लक्ष्य राखिएको छ।

कार्यक्रममा दर्शक तथा सहभागीका लागि दुई प्रकारका प्रवेश टिकटको व्यवस्था गरिएको छ। २०० रुपैयाँको टिकटमा निःशुल्क कफी तथा ४०० रुपैयाँको टिकटमा निःशुल्क बिरयानीको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

क्रिकेट फाइनलको विशेष स्क्रिनिङ, CØBWEB BAND को लाइभ कन्सर्ट, नेवारी खानाका मौलिक परिकार तथा विशेष आतिथ्य कार्यक्रमका थप आकर्षण रहनेछन्।

नेवा ननीले यस कार्यक्रमलाई एक दिनको मनोरञ्जनमा मात्र सीमित नराखी भक्तपुरमा खेलकुद, संगीत, संस्कृति तथा स्थानीय व्यवसायको प्रवर्द्धनका लागि नयाँ सम्भावनाको सुरुवातका रूपमा लिएको छ।

यस कार्यक्रमले नेपाली संगीत क्षेत्रका कलाकार र दर्शकबीचको सम्बन्ध थप बलियो बनाउनुका साथै स्थानीयस्तरमा सांगीतिक तथा सांस्कृतिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।