त्रिशूलीका बाढीपीडितको पीडा : दुई महिना बित्दासमेत सरकारको राहत नपाउँदा पुनःस्थापना र चिसोको चिन्ता
नुवाकोट । भोटेकोशी बाढी गएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि संघीय सरकारबाट कुनै राहत तथा पुनःस्थापनाको प्याकेज नपाएको भन्दै त्रिशूली बजारका बाढी प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन् ।
कार्तिक २८ गते बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा स्थानीयसँगको भेटघाटका क्रममा पुगेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमक्ष पीडितहरूले तत्काल सुरक्षित आवास, खाद्यान्न र दीर्घकालीन पुनःस्थापनाको माग राखेका हुन् ।
आफन्त गुमाएका र बेपत्ता भएकाको पीडा बाढीका कारण त्रिशूली क्षेत्रबाट ९२ जना बेपत्ता भएको र हालसम्म १६ भन्दा बढीको शव मात्र फेला परेको स्थानीयले बताएका छन् । स्थानीय सुचित जोशीले बाढीमा आफ्ना श्रीमती, छोरी, भाइ र बुहारी गरी परिवारका चार सदस्य गुमाएको पीडा सुनाउनुभयो । “परिवारका सदस्यहरूको शवसमेत फेला नपर्दा आजसम्म काजकिरिया गर्न पाएको छैन,” उहाँले भन्नुभयो ।
आफैँ शोकाकुल रहे पनि जोशीले स्थानीय स्तरमा सामुदायिक भान्छा सञ्चालन गरी दैनिक १५० जना प्रभावितलाई बिहानको चियादेखि बेलुकाको खानासम्म खुवाउँदै आउनुभएको छ । बाढीले शरीरमा लगाएको एकसरो कपडाबाहेक सबै बगाएकाले अब पुस–माघको कठ्याङ्ग्रिँदो चिसोमा कसरी बाँच्ने भन्ने चिन्ताले पीडितहरूलाई सताएको छ ।

संघीय सरकारप्रति आक्रोश, माइतीघरमा धर्ना दिने चेतावनी स्थानीय सुनचाँदी व्यवसायी लावसराज शाक्यले विपद्को सुरुवाती दिनमा उद्धारका प्रयास भए पनि त्यसपछि संघीय सरकारले पीडितको जीवनयापन र पुनःस्थापनामा कुनै चासो नदेखाएको गुनासो गर्नुभयो । बाढीले पक्की पुल र सडक बगाएपछि अहिले स्थानीयहरू निर्माणाधीन झोलुंगे पुलबाट जोखिम मोलेर वारिपारि गर्न बाध्य छन् ।
अर्का स्थानीय अञ्जेश श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र स्थानीय तहबाट सहयोग प्राप्त भए पनि नेपाल सरकार र प्रधानमन्त्री राहत कोषबाट पीडितले एक रुपैयाँ पनि नपाएको बताउनुभयो । राहत कोषमा जम्मा भएको रकम पीडितकै हितमा तत्काल प्रयोग नभए काठमाडौँको माइतीघर मण्डलामा गएर धर्ना दिने चेतावनीसमेत स्थानीयले दिएका छन् ।
भक्तपुर नगरपालिकाको ऐक्यबद्धता भेटघाटका क्रममा नगरप्रमुख प्रजापतिले बाढीपीडितको पीडामा भक्तपुर नगरपालिका साथमा रहेको बताउनुभयो । नगरपालिकाले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ७५ लाख ७१ हजार रुपैयाँ जम्मा गरिसकेको तथा ख्वप अस्पतालका चिकित्सकहरूको टोली खटाएर प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा संघीय सरकारले विशेष ध्यान दिनुपर्नेमा नगरप्रमुख प्रजापतिले जोड दिनुभयो ।














