प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट
२०७९ फागुन १५ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गर्नुभयो ।
भेटमा उहाँहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनमा सहकार्य गर्नेबारे छलफल भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी सम्बन्ध कायम गर्न विगतका वर्षहरूमा भक्तपुर नगरबासीहरूलाई चिनिया“ भाषाको प्रशिक्षण सञ्चालन गर्दै आएकोमा कोरोनाका कारण स्थगित भएको जानकारी दिँदै आगामी दिनमा निरन्तरता दिँदै जाने बताउनुभयो ।
उहाँले चीन सरकारले कोभिडमा नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै चिनियाँ भाषाको प्रशिक्षण सञ्चालनबारे कन्फ्युसियस इन्स्टिच्युटसँग सहकार्य गरी अगाडि बढ्न सकारात्मक रहेको बताउनुभयो ।
सांस्कृतिक आदानप्रदानमा भाषाको महत्वपूर्ण देन हुने बताउँदै उहाँले चिनियाँ पर्यटकहरूको सहजताको निम्ति पनि भक्तपुर नपाले चिनियाँ भाषालाई जोड दिँदै प्रशिक्षण सञ्चालन गर्दै आएको हो भन्नुभयो ।


त्यस्तै कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक लुकाओले त्रिभुवन विश्वविद्यालयमा हालसालै मात्र कम्फ्युसियस इन्स्टिच्युट स्थापना भई चिनियाँ भाषाको अध्ययन—अध्यापन सुरु भइसकेको बताउँदै भक्तपुरमा पनि चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन उत्सुक भएको बताउनुभयो ।
उहाँले चिनियाँ जनताप्रति नेपाली जनताको सद्भाव र सकारात्मक दृष्टिकोणबाट आफू उत्साहित भएको बताउँदै कम्फ्युसियस इन्स्टिच्युटले किर्तिपुरमा बाहेक दुईवटा सार्वजनिक विद्यालयहरूमा चिनियाँ भाषाको पठनपाठन सुरु गर्दै आएको बताउनुभयो । भक्तपुर नपाले चिनियाँ कक्षा सञ्चालन गर्दै आइरहेको विषयमा आफू अवगत रहेको बताउँदै उहाँले नपाको मागअनुसार चिनियाँ शिक्षक उपलब्ध गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिसँगको भेट अगाडि उहाँहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पतालको समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले निर्देशक लुकाओलाई नपाको परम्परागत खादाले स्वागत गर्नुका साथै भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
उक्त भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, चिनियाँ शिक्षिका वाङ युन्हे र चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवालको उपस्थिति रहेको थियो ।