‘नेवाः सभ्यताको सूत्रधार भक्तपुर हो’ : प्रा.डा. श्रेष्ठ

‘नेवाः सभ्यताको सूत्रधार भक्तपुर हो’ : प्रा.डा. श्रेष्ठ

जनसञ्चार समाचारदाता

भक्तपुर, कार्तिक १३ — इतिहासविद् तथा प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमण्डलको सभ्यताको मुख्य सूत्रधार भक्तपुर भएको बताउनुभएको छ। विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्रांगणमा जारी तीन दिने पुस्तक प्रदर्शनीका क्रममा आयोजित ‘भक्तपुर: हिजो, आज र भोलि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो।

कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपालमण्डलको बस्ती विकासको उषाकाल नै भक्तपुरबाट सुरु भएको दाबी गर्नुभयो। “भक्तपुर दरबार क्षेत्रको लुँ ध्वाका (सुनको ढोका), ङेङापा झ्य (पचपन्न झ्याले दरबार) र ङातापोल (न्यातपोल मन्दिर) जस्ता ऐतिहासिक सम्पदा हटाउने हो भने यहाँको सभ्यताको अस्तित्व नै अपुरो हुन्छ,” उहाँले भन्नुभयो।

उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरका व्यवस्थित सहर तथा नेवाः समुदायका अन्य उप-सहरहरूको बनावटले ५ हजार वर्ष पुरानो सिन्धु घाटीको सभ्यताको झल्को दिने उहाँको भनाइ थियो। सिन्धु सभ्यता ३५ सय वर्ष पहिले नै लोप भइसके पनि नेवाः बस्तीमा रहेका ‘थने’ र ‘कोने’ जस्ता सांस्कृतिक र भौगोलिक विभाजनसहितका सभ्यता ५ हजार वर्ष अघिदेखि अहिलेसम्म जीवन्त रहेको उहाँले उल्लेख गर्नुभयो। “सत्ता मर्न सक्छ, तर संस्कृति कहिल्यै मर्दैन,” उहाँले थप्नुभयो, “किरात कालमै भक्तपुरलाई ‘ख्वप्रिङ्ग’ नाम दिइएको थियो, तर व्यवस्थित सहरको रूपमा भक्तपुरको विकास सोभन्दा धेरै अघिदेखि भइसकेको थियो।”

आधुनिकताको प्रभावसँगै मौलिक भाषा, संस्कृति र सभ्यतामा अतिक्रमण भइरहेको वर्तमान अवस्थामा नेवाः पहिचानको संरक्षण अत्यावश्यक भएको विषयमा अन्तरक्रियामा व्यापक छलफल भएको थियो।

आर्किटेक्ट सृजना प्रजापतिले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा रुजेल शिल्पकारले नयाँ पुस्तालाई नेवाः सभ्यता र संस्कृतिसँग जोड्न तथा यसलाई जीवन्त राख्न गहन अध्ययन, अनुसन्धान र अनुशरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।