कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन

कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
भक्तपुर, ९ असोज
कानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित भएको छ । उक्त समाजको शुक्रबार सम्पन्न कानुन व्यवसायी भेला तथा पुनर्गठन कार्यक्रममा ज्याख्वको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असहाय र गरिबका निम्ति कानुन व्यवसायी बन्नुपर्ने बताउँदै पैसाका लागि नैतिकता बेच्नेहरुसँगै नितान्त फरक रुपमा इमान्दार, सभ्य र पारदर्शी भएर काम गर्नुपर्ने औंल्याए । उनले बारको सदस्यता मौलिक अधिकार रहेको र कुनै आरक्षण कोटा नभएको स्पष्ट पार्दै त्यसलाई सधै खुल्ला राख्नुपर्ने बताए । हरेक चुनाव जित्नका लागि मात्र नभएको र विचार र सिद्धान्तका लागि लड्नुपर्ने औल्याए । धेरैको घरपरिवारमा भइरहने मुद्दाका विषयमा कानुनी साक्षरता र जनचेतनामूलक क्रियाकलाप गर्नुपर्नेमा जोड दिँदै उनले हरेक गतिविधि पारदर्शी हुनुपर्ने बताए । मौका नपाएसम्म मात्र इमान्दार बनेकासँग सतर्क हुनुपर्ने बताउँदै उनले अनैतिक र पार्टी अनुशासन विपरीत कसैले कुनै कार्य गरे कारबाही गर्ने स्पष्ट पारे । साथै उहाँले धनीमानीहरुको होइन, जनताको वकिल बन्नुपर्नेमा जोड दिए ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले कानुन अध्ययन समाज बुद्धिजीवीहरुको संगठन भएको, अध्ययनशिलहरुको संगठन भएको कुरा व्यवहारले सावित गर्नुपर्ने बताए । उनले समसामयिक विषयमा अध्ययन र समालोचना गर्न सक्ने क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै क्षमता अनुसार प्रस्तुती गर्न सकेमात्र बलियो हुँदै जाने बताए । राजनीतिक विचार र सिद्धान्त नभएपछि निक्कै कमजोर सावित हुने बताउँदै उनले कसैको गल्ती र कमजोरीबाट सिक्नुपर्ने बताए । पद र सेवा खरिद विक्री र मोलमोलाइबाट नचल्ने बताउँदै नेमकिपाले अहिलेसम्म पनि पद र पैसाको लागि आफ्नो इमान र नैतिकतालाई बन्धकमा नराखेको स्पष्ट पारे । उनले पूँजीवादी व्यवस्था पाण्डुराको बाकस जस्तै दैनिकजसो खुलिरहेको औंल्याउँदै त्यस्तो कुरामा कोही पनि विद्धानवर्ग फस्न नहुने बताए । साथै जनताको न्यायको रक्षाको लागि कानुन व्यवसायीहरु लाग्नुपर्नेमा उनको जोड छ ।
समाजका केन्द्रीय अध्यक्ष राम प्रसाद प्रजापतिले समाजको विगत र वर्तमान अवस्थाको जानकारी दिँदै नयाँ कार्यसमितिका पदाधिकारीहरुले अझ व्यवस्थित र मर्यादित रुपमा चलाउनुपर्ने बताए । उनले प्रभावकारी बहस कला र सिप सबैलाई आवश्यक भएको बताउँदै समाजले विभिन्न व्यक्तिसम्म पार्टीको साख सिर्जना भएको बताए । बहुसंख्य किसान र मजदुरको मौलिक हकहितका लागि निरन्तर संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।
समाजका पूर्व अध्यक्ष राजु कैती, भक्तपुर बार एकाइ समितिका गम्भिरमान ज्याख्व, लेखापढी व्यवसायी समाजका संयोजक राजाराम बासीले प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा सुन्दर राजचल, विजयराम माक, निरोज बैद्य, सुनिल प्रजापतिलगायतले बोलेको थियो ।