भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न

भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
भक्तपुर, ९ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी पीठमा हुने २९औं वार्षिक साधारणसभाको जानकारी दिन संस्थाका संस्थापक र पूर्वपदाधिकारीहरुको भेला शुक्रबार सम्पन्न भएको छ ।
उक्त भेला कार्यक्रममा संस्थाका सल्लाहकार एवम् संस्थापक कृष्ण प्रसाद धन्छाले हरेक विज्ञहरुका कुरालाई वास्ता नगर्दा ठूला ठूला विपत्ति सामना गर्नुपरेको र जनधनको क्षति खेप्नुपरेको कुरा बताउनुभयो । यसैको परिणाम रसुवा भोटेकोशीको हिमपहिरो पनि भएको उहाँको कथन छ । उहाँले भक्तपुर बचतको संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनमा कुनै पनि कमीकमजोरी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै उक्त आदर निकेतनबाट व्यवहारिक पक्ष सिक्नका लागि विभिन्न विद्यालयका विद्यार्थीहरुले नियमित रुपमा अवलोकन भ्रमण गरिरहेको बताउनुभयो । उहाँले अनलाइन बैंकिङ र मोबाइल बैंकिङ जस्ता प्रविधिको उदयसँगै उच्चतम जोखिम बढेकोप्रति सजग हुनुपर्ने बताउँदै कोही पनि त्यसबाट पैसा फस्न नहुने बताउनुभयो । साथै उहाँले पूँजीबादी सोच अनुसारको सरकार भएकाले त्यसले निम्नवर्गीय जनताका लागि काम नगर्ने र स–साना पूँजीबाट चलेका सहकारीलाई बन्द गराउन विभिन्न नीतिहरुको निर्माण गरिएको बताउनुभयो । उहाँले भक्तपुर बचतलाई उठाउन संस्थापकहरुबाट जस्तो भूमिका रहेको हो, त्यस्तै आदर निकेतनको उत्थानका लागि योगदान रहेको बताउनुभयो ।
संस्थाका संस्थापक एवम् पूर्वअध्यक्ष बलराम प्रजापतिले २९ औं वार्षिक साधारणसभालाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न संस्थापक र पूर्वपदाधिकारीहरुको साथ र सहयोग हुने बताउनुभयो । उहाँले ४० जना संस्थापकहरुबाट रोपेको बिउले आजको अवस्था पाउनु गर्वको कुरा रहेको बताउँदै संस्थाको स्थापनादेखि नै आर्थिक अनुशासन र पारदर्शितालाई अँगाल्दै अघि बढेको बताउनुभयो । विगतमा निकै दुःख र संघर्षबाट हुर्केको जगलाई नयाँ पुस्ताले विभिन्न नीति र विधिका साथ मजबुत बनाएको स्पष्ट पार्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचतलाई अन्य सहकारीहरुले ‘मार्केट लिडर’का रुपमा हेरिरहेको बताउँदै प्राधिकणलगायतबाट आएका नीति र निर्देशनहरुलाई संस्थाले कसरी लिइन्छ भनी सबैले निगरानी गरिरहेको औंल्याउनुभयो । संस्थाको २९औं साधारणसभाको तयारीबारे स्पष्ट पार्दै प्राधिकरणको नीति र निर्देशनलाई एक एक पाइला गरी पूरा गर्दै गएको उहाँको भनाइ छ । सहकारी अब स्वनियमनको अवस्थामा नरहेको हुँदा निर्देशन दिने संस्था धेरै हुँदा सहकारी संस्था झन् जटिल र भद्रगोलको अवस्थामा पुग्ने उहाँको तर्क छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले सरकारले सहकारीप्रति हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै सहकारीलाई एकपछि अर्को निर्देशनबाट उठ्नै नसक्ने अवस्थामा ल्याएको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुर आदर निकेतनबारे जानकारी दिँदै निरन्तर सञ्चालनका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
संस्थाका संस्थापक केदारमान ज्याख्वले जिज्ञासा राखेको उक्त कार्यक्रममा व्यवस्थापक सत्यनारायण साँयजुले संस्थाको हालसम्मको वित्तीय अवस्थाबारे जानकारी दिनुभयो । भदौ मसान्तसम्ममा संस्थाको वासलात ४ अर्ब ३५ करोड रहेको उक्त संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाबारे स्पष्ट पार्नुभयो ।