मयुर यातायातको बसको ठक्करबाट भक्तपुरमा एक बृद्धाको मृत्यु

मयुर यातायातको बसको ठक्करबाट भक्तपुरमा एक बृद्धाको मृत्यु

भक्तपुर, श्रावण ६ गते
मयुर यातायातको बसको ठक्करबाट भक्तपुर नगरका एक बृद्धाको मृत्यु भएको छ । आज विहान ११ः२० बजे भक्तपुरको सूर्यविनायकस्थित इटभु चोकमा भएको सवारी दुर्घटनाबाट घाईते भएका भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछें बस्ने वर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बाटो काट्नेक्रममा श्रेष्ठलाई मयुर यातायातको बा ५ ख. ४७८२ नं.को बसले ठक्कर दिएको थियो । घाईते श्रेष्ठलाई तत्काल उपचारकालागि भक्तपुर अस्पताल लगिएको भएपनि ११ः३५मा घाइते श्रेष्ठलाई अस्पतालले मृत्त घोषणा गरेको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । दुर्घटनापश्चात घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली परिचालन गरी ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । चालक नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई हाल काठमाण्डौ नारायणस्थान बस्ने २८ वर्षका निलकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । चालकमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीका सूचना अधिकारी नेउपानेले जनाएको छ ।