भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण

भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर, ८ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने लोपोन्मुख नौ बाजाको प्रशिक्षण बिहिबार लोकार्पण भएको छ । उपत्यकाका नेवारहरुले बजाइने उक्त बाजा मिति २०८२ मंसिर ११ गते सुरु भइ बिहिबार लोकार्पण भएको हो ।


लोकार्पण तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले सिकेको सिपलाई निरन्तर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै बर्षमा एक दुईपटक मात्र बजाउने नभई नियमित बजाउन संस्थाले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले नाचगानको शहर भक्तपुरमा हरेक खालका बाजागाजा नयाँ पुस्तामा हस्तान्तरण भइरहेको बताउँदै भक्तपुरको पहिचान बचाइराख्ने हो भने यस्ता लोपोन्मुख बाजाको निरन्तर प्रशिक्षण हुनुपर्नेमा जोड दिनुभयो । साथै भक्तपुरका जनताले यहाँको बाजासँगै ऐतिहासिक सामग्रीको पछिसम्मको संस्मरणका लागि संग्रहालयको स्थापना गर्नुपर्ने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कलाकृति बचाउनुपर्ने र यसले शारीरिक एवम् मनमस्तिष्क नै स्वच्छ रहने र अनुशासनको पाठ सिकाउने स्पष्ट पार्नुभयो । दुःख सुखका साथी बाजा भएकाले यसको ऐतिहासिक रुपमै लिच्छवीकालदेखि नै चलिआएको बताउँदै प्रशिक्षार्थीहरुले सिकेका कुरा अन्यलाई हस्तान्तरण गरे मात्र सम्पदा जिवीत रहने औंल्याउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले हालसम्म ३ सय ८५ जना सांस्कृतिक प्रशिक्षार्थीलाई दिक्षित गरिसकेको बताउँदै संस्थाको आवश्यकता र उद्देश्य पूरा गर्न प्रशिक्षार्थीहरुले महत्वपूर्ण योगदान पु¥याइरहेकोप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सिकेका नौबाजालाई समाजमा प्रस्तुत गर्दै गएमात्रै यो बाजाको मौलिकता बाँकी रहने स्पष्ट पार्नुभयो । साथै प्रशिक्षार्थी अब प्रशिक्षक भएर निस्कनुपर्नेमा उहाँको जोड छ ।
प्रशिक्षकका तर्फबाट रभिम कपालीले उपत्यकामै लोप हुन लागेको यस्तो बाजा संस्थागत रुपमा भक्तपुर बचतले सिकाएको बताउँदै भक्तपुरको सांस्कृतिक उत्थानमा भक्तपुर बचतको योगदानको कदर गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट सन्देश प्रजापतिले दुई दशकअघिदेखि नै नौ बाजा सिक्ने रहर भएर पनि पूरा हुन नसकेको भक्तपुर बचतले पूरा गरिएको स्मरण गर्नुभयो । उहाँले दक्ष गुरुहरुको दिक्षाबाट प्रशिक्षार्थीहरु राम्रो दिक्षा लिन सफल भएको बताउनुभयो ।
आयोजक समितिका सयोजक नारायण खोंजुले सदस्यहरुको चाहना र आवश्यकता अनुसार विभिन्न खालका बाजाहरुको प्रशिक्षण दिइरहेको औंल्याउँदै धेरै अघिदेखिको संस्थाको सोच अहिले पूरा भएको स्पष्ट पार्नुभयो ।
मुख्य प्रशिक्षक पंचलाल लाछिमस्यू, सहायक प्रशिक्षकहरु गोपाल लाछिमस्यू, इन्दिरा लाछिमस्यू, रभिम कपाली र राजकुमार मानन्धर रहेको उक्त तालिममा पुरुष २९ जना र महिला १० जना गरी ३९ जना प्रशिक्षार्थीहरु दिक्षित भएका थिए । कार्यक्रममा प्रमुख अतिथि विष्णुगोपाल कुसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण र संस्थाका अध्यक्ष निर्मल प्रजापतिले गुरुहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । सोही अवसरमा प्रशिक्षार्थीहरुबाट स्थानीय सूर्यमढी टोलमा म्वाली र पोङासँगै नौ बाजाको उत्साहजनक प्रस्तुति भएको थियो । कार्यक्रममा आयोजक समितिका सदस्य प्रज्वल प्रजापतिले पनि बोल्नुभएको थियो ।