फेरि भेटौँला…

फेरि भेटौँला…

हिँड्दा बाटो लामो थियो, साथ थियो केही क्षण,

आज सम्झनामा बाँकी, ती दिनका मधुर स्पन्दन।

हाँसेका ती पलहरू नै, आँखाभरि सजिन्छन्,

टाढा भए पनि आफ्ना, मनभित्रै बसिरहन्छन्।

मृत्युको त्यो मौन बाटो, एकदिन सबैले जानु,

जीवन भने कर्मभूमि हो, सत्य–धर्ममा बाँच्नु।

कसैको शुभकामनाले, बाटोभरि दीप बाल्यो,

आमाबुबाको आशीषले, हरेक दुःखलाई टार्यो।

हजारौँ मोड पार गर्दै, जीवन अघि बढिरह्यो,

कहिले घाम, कहिले छाया, समयसँगै बदलिरह्यो।

लड्दा उठ्ने साहस पाएँ, हारले पाठ सिकायो,

अँध्यारोको गर्भ चिरेर, उज्यालोले बोलायो।

आज यहाँसम्म आइपुग्दा, आफ्नै मनलाई सोध्छु,

मैले पाएका हरेक सासको, मूल्य कति हो खोज्छु।

बाँच्नु केवल आफूका लागि, जीवन होइन रहेछ,

अरूको आँसु पुछ्न सक्नु, साँचो धर्म रहेछ।

यदि भोलि बाटो छुट्यो, सम्झनामा फूल राख्नु,

मेरो नामभन्दा पहिले, मेरा कर्महरूलाई सम्झनु।

जीवनको यो यात्रा हाम्रो, यत्तिमै कहाँ सकिन्छ र—

आज बिदा भए पनि साथी, फेरि भेटौँला कतै पर।

लेखक— गोबिन्द राज ओझा (राजन)