साहित्यकार प्रमोद नेपालको लघुकथासङ्ग्रह लोकार्पित

साहित्यकार प्रमोद नेपालको लघुकथासङ्ग्रह लोकार्पित

काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित एक समारोहबीच प्रमोद नेपालको सातौँ कृति ’निरुत्तर’ लघुकथासङ्ग्रहको लोकार्पण भयो । प्रतिष्ठानद्वारा प्रकाशित सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूब सेन, स्रष्टा–समालोचकहरू ठाकुर शर्मा भण्डारी, गोपी मैनाली, युवराज मैनाली, रामप्रसाद दाहाल, कृष्ण प्रधान, कार्यक्रमका सभापति रामप्रसाद पन्त र सरोज नेपालले संयुक्तरूपमा गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सूब सेनले प्रमोद नेपालका लघुकथाहरू नेपाली समाजका समसामयिक समस्या र विषयमा लेखिएको उल्लेख गर्दै कथाकार नेपाललाई अझ सशक्त लेखनयात्राका लागि शुभकामना दिनुभयो । सो अवसरमा युवराज मैनालीले कृतिको समीक्षा गर्दै नेपालका लघुकथालेखनका गुण र दोषबारे आफ्ना धारणा प्रस्तुत गर्नुभयो । स्रष्टा–समालोचक ठाकुर शर्मा भण्डारीले काव्यिक स्वागत मन्तव्यका साथै कार्यक्रममाथि प्रकाश पार्नुभयो । सो अवसरमा कृतिमा भूमिका लेखक गोपी मैनाली, साहित्यकारहरू रामप्रसाद दाहाल, कलानिधि दाहाल, कृष्ण प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले लोकार्पित कृति र कृतिकार प्रमोद नेपालका बारेमा बोल्दै कथाकार नेपाल आफूभन्दा पहिले नै साहित्यलेखनमा प्रवेश गरेको बताउनुभयो भने कृतिकार प्रमोद नेपालले आफ्नो लेखनसाधनाबारे चर्चा गर्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृतिकार नेपाल र उहाँकी धर्मपत्नी सुधा गौतम नेपाललाई सभापति पन्तले सम्मान गर्नुभएको थियो भने नेपाली वाङ्मयका क्षेत्रमा साधनाशील विशिष्ट स्रष्टाहरूको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण स्रष्टा यादव भट्टराईले गर्नुभएको थियो ।