दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :

दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :

ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन को सन्दर्भमा) हरेक वर्ष जुन १५ अर्थात् असार १ गते विश्वभर ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस मनाइन्छ। सन् २०२६ (२०८३) का लागि अन्तर्राष्ट्रिय नारा “Beyond Awareness: Making Elder Abuse Prevention Work” (जागरूकताको सीमाभन्दा पर: ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहार रोकथामलाई व्यवहारिक र प्रभावकारी बनाउने) र नेपालले तय गरेको राष्ट्रिय नारा “दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्धि” रहेको छ। यो दिवस केवल औपचारिक कार्यक्रम गर्ने अवसर मात्र नभई समाजमा बढ्दो ज्येष्ठ नागरिक दुर्व्यवहार, उपेक्षा र असुरक्षाका विषयमा गम्भीर समीक्षा गर्ने अवसर पनि हो। नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या करिब २९ लाख पुगेको छ, जुन कुल जनसंख्याको झण्डै १० प्रतिशत हो। औसत आयु वृद्धि, स्वास्थ्य सेवामा सुधार तथा जनसंख्याको संरचनागत परिवर्तनका कारण आगामी दशकहरूमा यो अनुपात अझ तीव्र गतिले बढ्ने अनुमान गरिएको छ। यसले नेपाललाई क्रमशः वृद्ध समाजतर्फ उन्मुख गरिरहेको संकेत गर्दछ। ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कृतिका जीवित भण्डार हुन्। उनीहरूले परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएका हुन्छन्। तर विडम्बना, जीवनको उत्तरार्धमा धेरै ज्येष्ठ नागरिकहरू आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुध्न बाध्य छन्। परम्परागत संयुक्त परिवार प्रणाली कमजोर हुँदै जानु, वैदेशिक रोजगारी र शहरीकरणका कारण परिवारका सदस्यहरू टाढिनु तथा सामाजिक मूल्य–मान्यतामा आएको परिवर्तनले ज्येष्ठ नागरिकको जीवनमा नयाँ चुनौती थपेको छ। आज नेपालका धेरै ज्येष्ठ नागरिकहरू एक्लोपन, स्वास्थ्य समस्या, आर्थिक असुरक्षा र पारिवारिक उपेक्षाबाट पीडित छन्। कतिपय अवस्थामा उनीहरू शारीरिक, मानसिक, भावनात्मक तथा आर्थिक दुर्व्यवहारको शिकार भइरहेका छन्। सम्पत्तिका विषयमा दबाब, अपमानजनक व्यवहार, हेरचाहको अभाव, सामाजिक बहिष्करण र निर्णय प्रक्रियाबाट अलग गरिनु पनि दुर्व्यवहारकै स्वरूप हुन्। यस्ता घटनाहरू प्रायः सार्वजनिक हुँदैनन्, किनभने पीडितहरू आफ्नै परिवार वा नजिकका व्यक्तिसँग सम्बन्धित विषय उजागर गर्न हिच्किचाउँछन्। विशेष गरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। उमेरजन्य रोगहरूको उपचार, नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सेवा तथा दीर्घकालीन स्याहार केन्द्रहरूको अभाव अझै गम्भीर समस्या बनेको छ। अर्कोतर्फ, सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको जीवनयापनमा महत्वपूर्ण आधार बनेको भए पनि बढ्दो महँगीका कारण यसको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ। नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन, २०६३ तथा विभिन्न नीतिहरूमार्फत ज्येष्ठ नागरिकको अधिकार संरक्षण गर्ने प्रयास गरेको छ। संविधानले पनि सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। तथापि कानुनी व्यवस्था र व्यवहारिक कार्यान्वयनबीच अझै ठूलो दूरी देखिन्छ। धेरै स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सेवा तथा कार्यक्रमहरू पर्याप्त रूपमा विकास हुन सकेका छैनन्। यस सन्दर्भमा केही महत्वपूर्ण नीतिगत सवालहरू उठाउन आवश्यक छ। पहिलो, नेपालले तीव्र रूपमा बढिरहेको वृद्ध जनसंख्यालाई ध्यानमा राखी राष्ट्रिय देष्ठ नागरिक नीतिलाई समयानुकूल पुनरावलोकन गर्नुपर्छ। वृद्धजनको संख्या, अवस्था र आवश्यकताबारे नियमित तथ्यांक संकलन तथा अनुसन्धानलाई प्राथमिकता आवस्यक छ । दोस्रो, ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य प्रणाली विकास गर्न आवश्यक छ। प्रत्येक स्थानीय तहमा जेरियाट्रिक (जेष्ठ नागरिक) स्वास्थ्य सेवा, घरमै पुग्ने स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य परामर्शको व्यवस्था विस्तार उचित देखिन्छ । तेस्रो, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण आवश्यक छ। सामाजिक सुरक्षा भत्तालाई जीवनयापनको वास्तविक लागतसँग जोडेर समयानुकूल पुनरावलोकन गर्नुपर्छ। साथै, पेन्सनविहीन तथा आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकका लागि अतिरिक्त सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्छ। चौथो, दुर्व्यवहार रोकथाम र न्यायमा पहुँच सुनिश्चित गर्नुपर्छ। प्रत्येक स्थानीय तहमा उजुरी तथा परामर्श संयन्त्र स्थापना गरी ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारका घटनाको प्रभावकारी सुनुवाइ गर्नुपर्छ। प्रहरी, न्यायिक निकाय तथा सामाजिक कार्यकर्तालाई यस विषयमा विशेष प्रशिक्षण दिनु आवश्यक छ। पाँचौँ, सक्रिय वृद्धावस्था लाई प्रोत्साहन गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई समाजका निष्क्रिय सदस्यका रूपमा होइन, अनुभव र ज्ञानका स्रोतका रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ। स्वयंसेवा, सामाजिक सहभागिता, सीप हस्तान्तरण र अन्तरपुस्तीय संवादका कार्यक्रमहरू विस्तार गरिनुपर्छ। छैटौँ, ज्येष्ठ नागरिकमैत्री सार्वजनिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्छ। सडक, यातायात, स्वास्थ्य संस्था, सार्वजनिक कार्यालय र सार्वजनिक स्थलहरू पहुँचयुक्त तथा सुरक्षित बनाइनुपर्छ। विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवसले हामी सबैलाई एउटा महत्वपूर्ण प्रश्न सोधिरहेको छ । के हामीले आफ्ना ज्येष्ठ नागरिकलाई सम्मानित, सुरक्षित र मर्यादित जीवन बाँच्ने वातावरण दिन सकेका छौं? यदि सकेका छैनौं भने अब समय केवल सचेतना फैलाउने मात्र होइन, त्यसलाई व्यवहार र नीतिमा रूपान्तरण गर्ने हो। ज्येष्ठ नागरिकप्रति सम्मान हाम्रो संस्कृतिको आधारभूत मूल्य हो। तर सम्मान केवल शब्दमा होइन, व्यवहार, नीति र कार्यक्रममार्फत अनुभूत हुनुपर्छ। परिवार, समुदाय, नागरिक समाज, सञ्चार माध्यम र राज्य सबैको साझा दायित्व हो। ज्येष्ठ नागरिकमाथि हुने हरेक प्रकारका दुर्व्यवहार अन्त्य गर्दै उनीहरूलाई सुरक्षित, स्वस्थ, सम्मानित र सक्रिय जीवन सुनिश्चित गर्ने। “दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्धि” भन्ने राष्ट्रिय नारालाई सार्थक बनाउन हामी सबैले आ–आफ्नो तहबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ। सचेतना, संवेदनशीलता र प्रभावकारी कार्यान्वयनको माध्यमबाट मात्र ज्येष्ठ नागरिकमैत्री समाज निर्माण सम्भव छ। यही नै विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस २०८३ को मुख्य सन्देश हो। आजको युग सूचना तथा सञ्चार प्रविधिको युग हो। प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज, सरल र प्रभावकारी बनाएको छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरू पनि आधुनिक प्रविधिबाट टाढा रहने होइन, बरु यसलाई आत्मसात् गर्दै नयाँ ज्ञान हासिल गर्ने र आफ्नो जीवनलाई थप सक्रिय, सुरक्षित तथा अर्थपूर्ण बनाउने अवसर प्राप्त गर्न सक्छन्। आधुनिक प्रविधि, जस्तै स्मार्टफोन, कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, भिडियो कल, अनलाइन बैंकिङ तथा डिजिटल स्वास्थ्य सेवाले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाएको छ। यी माध्यमहरूको प्रयोगबाट उनीहरूले देश–विदेशमा रहेका आफ्ना परिवारजन र साथीभाइसँग नियमित सम्पर्क राख्न सक्छन्, समाचार तथा जानकारी प्राप्त गर्न सक्छन्, नयाँ सीप सिक्न सक्छन् र आफ्नो अनुभव तथा ज्ञान अरूसँग बाँड्न सक्छन्। सक्रिय जीवनका लागि शारीरिक र मानसिक दुवै पक्षको सन्तुलन आवश्यक हुन्छ। स्वास्थ्य निगरानी गर्ने मोबाइल एप, अनलाइन चिकित्सक परामर्श, व्यायाम तथा योगसम्बन्धी डिजिटल सामग्रीले ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय रहन प्रेरित गर्दछ। यसले उनीहरूलाई आत्मनिर्भर, सचेत र समयानुकूल बनाउँछ। आधुनिक प्रविधि केवल सुविधा प्राप्त गर्ने माध्यम मात्र नभई जीवनभर सिकाइ, ज्ञान अभिवृद्धि, सामाजिक सहभागिता र सक्रिय वृद्धावस्थाको महत्वपूर्ण आधार हो। ज्येष्ठ नागरिकले प्रविधिसँग मित्रता गर्दै नयाँ ज्ञान हासिल गर्ने, समाजसँग जोडिइरहने र सक्रिय जीवनयापनका लागि सधैं तत्पर रहने हो भने उनीहरूको जीवन अझ सुखी, सम्मानित र गरिमामय बन्न सक्छ। नेपालमा हाल मन्त्रालयगतको नाममा ज्येष्ठ नागरिक शव्दलाई हटाईएको छ । देशको जनसंख्याको करिब १० प्रतिशत जनसंख्याको हिस्सा ओगट्ने ज्येष्ठ नागरिक वर्गका समस्या, अधिकार र आवश्यकताहरू बहुआयामिक र विशिष्ट प्रकृतिका भएकाले उनीहरूको विषयलाई अझ सुदृढ संस्थागत संरचनामा लैजानुपर्ने बहस बढ्दै गएको छ। यस सन्दर्भमा ज्येष्ठ नागरिक समुदायबाट उठाइएको एक महत्वपूर्ण सरोकार यस्तो छ। “यदि जनसंख्याका प्रत्येक वर्गलाई छुट्टै मन्त्रालय बनाइने हो भने ज्येष्ठ नागरिकका लागि पनि छुट्टै मन्त्रालय आवश्यक छ। नभए सबै उमेर, जात, लिंग र समुदाय समेट्ने गरी एकीकृत ‘सामाजिक मन्त्रालय’ स्थापना गरी त्यसअन्तर्गत उमेरगत, लैङ्गिक तथा सामाजिक समावेशी आधारमा विभागीय संरचना बनाई स्पष्ट कार्यादेश र परिणाममुखी कार्यक्रम लागू गरिनुपर्छ।” लेखक : खेमराज उपाध्याय, जेष्ठ नागरिक सवालका अध्यता