आज मथिनपाको १३ औं नगर अधिवेशन, पर्यटन बोर्ड गठनको तयारी
मध्यपुर थिमि, पुस २४ गते । मध्यपुर थिमि नगरपालिकाले आज १३ औँ नगर अधिवेशन आयोजना गरेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा थिमि बैक्वट थिमि भक्तपुरको सभाहलमा आयोजित सो सभाले नगरपालिकाको ६ महिनाको नीति तथा कार्यक्रम र बजेट बारे जानकारी गराउँदै बजेट तथा कार्यक्रम संशोधन, आर्थिक ऐन संशोधन, पर्यटन बोर्ड गठनलगायत स्थानीय विकाससँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल गरेको थियो ।

बैठकमा आर्थिक ऐन २०८२ संशोधन, विनियोजन ऐन २०८२ संशोधन, मध्यपुर थिमि पर्यटन बोर्ड गठन तथा सञ्चालन सम्बन्धी ऐन २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, तथा मध्यपुर थिमी नगरपालिका सहकारी दोस्रो संशोधन ऐन २०८२ माथि छलफल गरी निर्णय लिने कार्यसूची थियो । यसैगरी, घर नक्सा पास सम्बन्धी व्यवस्था, जग्गा एकीकरण, तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको म्याद थप जस्ता विषय पनि नगर सभामा प्रस्तुत भएका थिए । उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाको छ महिनाको आय ब्यय प्रस्तुत गर्दै तीन वर्षिय योजना बारे प्रकास पारेका थिए ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का कार्यक्रम तथा बजेटको हालसम्मको प्रगति विवरण पनि नगर सभामा प्रस्तुत गरिएको थियो । सो अवसरमा नगर सभा सदस्यहरूले आफ्ना सुझाव तथा धारणा राखेका थिए । स्थानीय विकास, वित्तीय अनुशासन, सहकारी क्षेत्रको सुधार तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले ऐन संशोधन तथा नयाँ संरचना निर्माण गर्न लागेको नगरपालिकाको भनाइ छ ।













