समाजसेवी धौभडेलको ७३ औं जन्मदिन, जेष्ठ नागरिकको सेवामा समर्पित

समाजसेवी धौभडेलको ७३ औं जन्मदिन, जेष्ठ नागरिकको सेवामा समर्पित
भक्तपुर, मंसिर २२ गते
सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं समाजसेवी श्यामसुन्दर धौभडेलले सोमबार ७३ औं जन्मदिन मनाएका छन् । आफ्नो जन्मदिनलाई उहाँले सिद्धिस्मृति शालिग्राम जेष्ठ नागरिक आश्रमको दिवा सेवा पुनः सञ्चालन गर्न सदुपयोग गर्नु भयो । कोराना महामारी पछि बन्द भएको सो सेवा पुनः सञ्चालन गरी जेष्ठ नागरिकहरुलाई सेवा दिन उहाँले आफ्नो जन्मदिन सदुपयोग गर्नु भयोे ।


आफ्ना ईष्ट मित्र, नातेदार तथा शुभचिन्तकहरुलाई जन्मदिन मनाउन सामूहिक भोज आयोजना गरी आफ्नो जन्मदिनको सगुनस्वरुप ल्याउने उपहारहरुलाई नगदको रुपमा ल्याउन अर्थात चन्दा प्रदान गर्न आह्वान गर्नु भएको थियो । सोही अनुसार आगन्तुक शुभचिन्तकहरुले आफ्नो गच्छेता अनुसार आर्थिक सहयोग प्रदान गर्दै नेवारी परम्परागत भोजमा सरिक भएका थिए ।
अध्यक्ष धौभडेलको ७३ औं जन्म दिनको अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, स्थानीय वडाध्यक्ष उकेश कवां सहित अस्पतालका डाक्टर, चिकित्सक, नर्स, कर्माचारी एवं समाजसेवी, स्वास्थ्यकर्मी शुभचिन्तकहरुको सहभागिता थियो ।


जन्मदिनको शुभकामना दिदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अग्रजहरुको अनुभव, सुझाव र सल्लाह अनुसार भक्तपुरको ऐतिहासिक सम्पदाहरु संरक्षण गर्दै आएको उल्लेख गर्दै यहाँ सहभागि भएर हर्षमुत्तेश्वर महादेवस्थानको बारेमा थप जानकारी पाएको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले सिद्धिस्मृति अस्पतालमा विपद् पर्दा सधै निरिक्षणमा आएर सहजिकरण गर्दै आएको र अस्पतालको सेवा प्रभावकारी बनाउन समन्वय भइरहेको अध्यक्ष धौभडेल समक्ष ताजै रहेर्कोे बताउनु भयो । भक्तपुर नगरको सरसफाई र पर्यटन विकासमा पनि विशेष ध्यान दिइरहेको नगर प्रमुख प्रजापतिले बताउनु भयो ।


सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं समाजसेवी श्यामसुन्दर धौभडेलले आफ्नो जन्म दिनमा सहभागि भएर शुभकामना दिनेहरुप्रति आभार व्यक्त गर्दै आफ्नो जीवनका ३० वर्ष भन्दा बढी समय सिद्धिस्मृति महिला तथा बाल अस्पताल सञ्चालन र प्रवर्धनमा गरेर महिला तथा बाल अस्पतालको विशेषज्ञ अस्पतालको रुपमा विकास गरेर स्थानीय समुदायको स्वास्थ्य सेवामा समर्पित गरेकोे बताउनु भयो । आफ्नो क्षमता र शुभचिन्तकहरुको अतुलनीय सहयोगबाट अस्पताल र आश्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आफ्नो जीवनले गर्न सकेको उपलब्धीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने चाहना व्यक्त गर्नु भयो । यस वर्षको आफ्नो जन्मदिनलाई जेष्ठ नागरिकको सेवामा समर्पित गरेको उहाँले बताउनु भयो । अध्यक्ष धौभडेलका दाजु अनन्दप्रसाद धौभडेलले जन्मदिन मनाएको चुपिंघाट परिसरको इतिहास कोट्याउदै भन्नु भयो । यो ठाउँ मेरो हजुर बाजेले बनाएको हो । यस ठाउँलाई हर्षमुक्तेश्वर महादेव परिसर भनिन्छ । आफ्नो हजुर बाज्ये हर्षनारायण धौभडेल जंगबहादुर राणाका बुवाको मित भएकाले आफ्नो ३२ रोप्नी जग्गामा हर्षमुक्तेश्वर महादेव स्थापना गरेको स्मरण गर्नुृ भयो । त्यसपछि यो क्षेत्रलाई सार्वजनिक तिर्थस्थलको रुपमा संरक्षण हुँदै आएको धौभडेलले बताउनु भयो । सो मन्दिरमा हरेक वर्ष नयाँ वर्षको अवसरमा बैशाख १ गते विस्का जात्राको अवसरमा योसिंख्य आउने भक्तजनहरुले सो मन्दिर परिसर अवलोकनकालागि आउने गरेको उहाँले बताए । हर्षमुक्तेश्वर महादेव अगाडीको ढुंगाको प्रतिमा आफ्नै हजुर बाज्ये हर्षनारायण धौभडेल रहेको उहाँले बताए । धौभडेलहरु मल्ल राजाको परिवारका सदस्यहरु रहेको उल्लेख गर्दै उहाँले शाहहरुले भक्तपुर जितेपछि मल्लहरुलाई मारकाट गर्न थालेपछि बच्नकालागि आफ्नो पूर्खाले हामी त मल्ल होइनौं धौभारी भएको भनेर सुरक्षित रहेको बताउनु भयो । राणाकालका धौभारीहरु ऋहिले धौभडेल भएको कुरा पनि उहाँले सो अवसरमा बताएका थिए ।