स्वर्ण वर्षमा थ्रीस्तार क्लब, कार्यक्रमहरु सार्वजनिक

स्वर्ण वर्षमा थ्रीस्तार क्लब, कार्यक्रमहरु सार्वजनिक

ललितपुर, चैत्र २१ गते
ललितपुरको थ्री स्टार क्लबले यस हप्ता विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण वर्ष मनाउने भएको छ ।
मंगलबजारमा आज पत्रकार सम्मेलन गर्दै क्लबले आफ्ना महत्वपूर्ण गतिविधिका साथै स्वर्ण वर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । २०३१ सालमा स्थापना भई ए डिभिजन फुटबल क्लवहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानसमा समेत चिरपरिचित थ्री स्तार क्लवले चैत्र २३ गते शनिबार रक्तदान तथा स्वस्थ्य परिक्षण कार्यक्रम गरी स्वर्ण वर्षको शुभारम्भ गर्ने छन् । सोही दिन थ्री स्टारका पूर्व खेलाडीहरुबीच मैत्रीपूण खेल तथा मिलन कार्यक्रम आयोजना गर्ने छन् । दोश्रो चरणमा क्लवका खेलाडी, शुभचिन्तकहरुलाई सम्मान तथा अभिनन्दन कार्यक्रम तय गरेको छ । साथै सो अवसरमा हाल सम्म विजेता उपबिजेता भएका शिल्ड, ट्रफि प्रदर्शन पनि गरिनेछ भने अर्को चरणको कार्यक्रममा सांगितिक तथा नेवा भ्वय् कार्यक्रम तय भएको क्लबका अध्यक्ष ज्ञान बहादुर शाक्यले जनाएको छ । सो अवसरमा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ ।

प्रेश विज्ञप्ति

ललितपुरमा स्थानीय युवाहरुको सक्रियतामा वि.सं. २०३१ सालमा स्थापित थ्री स्टार क्लब नेपालको ए डिभिजन फुटबल क्लबहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानस चिरपरिचित क्लब हो । २०८१ साल यस क्लबको स्थापनाको ५० बर्ष अर्थात स्वर्ण जयन्ती मनाउने क्रममा उत्साहजनक विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाउने सन्दर्भमा जानकारी गराउन आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुप्रति कृतज्ञता ब्यक्त गर्दै स्वागत गर्न चाहन्छौ ।
क्लबको इतिहासः
हरेक बर्ष शहिद स्मारक लिगमा २०३६ सालदेखि क्रमिक रुपमा सहभागी हुँदै आएको यस क्लबले ‘डि’, ‘सी’, ‘बि’ हुँदै क्रमिक रुपमा बढुवा भई २०३९ सालमा ‘ए’ डिभिजनमा स्थान बनाएको हो । शहिद स्मारक लिग, भारतका अन्तराष्ट्रिय खेल तथा मोफसलका समेत गरी ३० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएर ३४ पटक विजय हासिल गरेको छ भने १४ पटक उपविजेता बनेको छ । सो मध्ये तीन पटक शहिद स्मारक लिग ए डिभिजन राष्ट्रिय लिग एक पटक, भारतका भाग लिएका विभिन्न ७ वटा प्रतियोगिताको बिजेता बनेको छ । यसरी इतिहास पल्टाइ हेर्दा क्लबको उपलब्धिपूर्ण यात्राले हामीलाई गौरवान्वित बनाएको छ । यस यात्राका सहयात्रीहरु सम्पूर्णको योगदानले यो सफलता सम्भव भएको हो । यस क्लबबाट खेलेका करिब २० जना खेलाडी राष्ट्रिय तथा युवा राष्ट्रिय टोलीमा समावेश भई प्रतिभाशाली खेल प्रदर्शन गरेकोप्रति पनि गौरव लागेको छ । खेलाडी उत्पादन गर्नुका साथै प्रशिक्षक प्रशिक्षणमार्फत फुटबल खेल जगतमा परिवर्तन ल्याउने प्रशिक्षकहरुप्रति पनि हामीलाई गौरव लागेको छ ।
स्वर्ण जयन्ती समारोह मनाइरहँदा जुन गौरवमय अनुभूति हामीमा छ । उक्त अनुभूमिमा इतिहासको त्यो आरम्भ विन्दु अर्थात यस क्लबका संस्थापकज्यूहरु जसले क्लब स्थापना गर्नुका साथै फुटबललाई नियमित खेलको रुपमा अगाडी बढाउन सक्षम हुनुभयो । ‘डि’ डिभिजन देखि ‘ए’ डिभिजन सम्मको संघर्षपूर्ण यात्राको नेतृत्व गर्नुहुने पहिलो पुस्ताका नेतृत्वकर्ता श्री सानुलाल श्रेष्ठ र श्री डिनकर गोविन्द अमात्य, क्लबका सस्थापक अध्यक्षको साथै त्यस बेलाका सम्पूर्ण खेलाडीहरुको मेहनत एवं समर्पण अविश्मरणीय छ । ‘ए’ डिभिजनमा दोश्रो र तेश्रो पुस्ताका क्लबमा आवद्व खेलाडीहरु जसले लिगमा विजय प्राप्त गर्नुका साथै क्लबकोे प्रतिष्ठा बृद्धिमा मदत गरेको उल्लेख गर्र्दै नेतृत्वकर्ता स्व. ललितकृष्ण श्रेष्ठलाई स्मरण गर्न चाहन्छौं । क्लबको सशक्ततामात्र नभई समग्र देशमा फुटबल विकासमा समर्पित हुँदै गर्नुभएको ती कर्मले परिवर्तन अनुभूति गराएको छ । यही अनुभूतिले बद्लिएको समय र परिस्थितिमा पनि ललितकृष्ण श्रेष्ठको ब्यक्तित्व उज्यालो छ । चौथो पुस्ताका खेलाडीहरुको नेतृत्व अरुणमान जोशीले गर्नुभएको हो । मोफसलका फुटबल प्रतियोगिताहरुमा उल्लेखनीय उपस्थिति रहेको क्लबको यो यात्रा अवधिमा कोरोना महामारी, भुकम्प लगायतका विपद्का कारणले खेल गतिविधिमा कमि आएको स्मरण गर्नु पर्ने हुन्छ । यी महामारीका कारण थपिएको चुनौती पार गर्दै क्लबको सक्रियता, सशक्तता कायम राख्न भएका क्रियाकलाप महत्वपूर्ण रहेको छ । हाल ज्ञानबहादुर शाक्यको नेतृत्वमा पाँचौ पुस्ताका खेलाडीहरु खेलिरहेको छन् । २०७९ सालमा साधारण सभाबाट निर्वाचित यस कार्यसमितिको नेतृत्वमा यो अवधिमा एउटा महतवपूर्ण प्रतियोगिता जित्नुका साथै तीनवटा प्रतियोगितामा उपविजेता बन्न सफल भएका छौं । यसरी नयाँ कार्यकारी समितिले क्लबलाई पुनः उचाईमा लान प्रयासरत रहेको छ ।
क्लबलाई हौसला प्रदान गर्न फ्यान क्लबमा ४६ हजार फ्यानहरु रहेका छन् । यसै गरी क्लबमा आवद्ध ४५४ जना आजीवन सदस्य रहेको छ भने ४० जना आजीवन सदस्यहरुको अस्ताइसकेको दुःखद् तथ्य पनि रहेको छ ।
क्लबको स्वर्ण जयन्ती समारोहको अवसरमा हुने गतिविधि÷कार्यक्रमहरु
पहिलो चरणको कार्यक्रम
१. रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रमः
मिति २०८१ चैत्र २३ गते शनिबार
आर्दश कन्या निकेतन विद्यालय परिसर
विहान ८ बजेदेखि
जीवनदानतुल्य रक्तदान गर्न प्रेरित गर्ने तथा स्थानीय रक्तदाताबाट रक्त संकलन गर्ने एवं स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेका छ । खेल जगतमा लोकप्रिय यस क्लबका गतिविधिमा सामाजिक सेवामा सहभागिता समेत अभिबृद्धि
रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । अरनिको समाज, सम्झना ल्याब्रेटोरी क्लिनिक प्रा.लि.को प्राविधिक सहयोग रहने यस कार्यक्रममा मंगल टोल सुधार संघ र रोटरी क्लब अफ यलबाट स्वयंसेवक र ब्यवस्थापनमा सहयोग हुनेछ । यस स्वास्थ्य परिक्षणमा नशा, हाड जोर्नी, नाक, कान घाँटी, जनरल मेडिसिन, दम, फोक्सो एलर्जीको परिक्षण र औषधी वितरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम लक्षित रक्तदान न्यूनतम ५० जनाबाट रक्त संकलन हुनेछ भने दुई सय जना ब्यक्तिले विभिन्न स्वास्थ्य परिक्षणबाट लाभ लिने अपेक्षा राखिएको छ ।
२. थ्री स्टारका पूर्व खेलाडीहरुबीच मैत्रीपूण खेल तथा मिलन कार्यक्रमः
क्लबको स्वर्ण जयन्तीको अवसरमा पुराना थ्रीस्टार क्लबमा खेली आफनो योगदान दिइ आएका खेलाडीहरुलाई भेला गरी मैत्रीपूर्ण खेलको माध्यमबाट भेटघाट तथा पुर्नमिलन गर्ने उद्धेश्यले योे कार्यक्रम राखिएको छ । पूर्व खेलाडीहरुलाई सो अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम मिति २०८१ चैत्र २३ गते शनिबार दिउसो १ः३० बजेबाट बुद्धि विकास मण्डल खेल मैदानमा गरिनेछ । यो करिव ६० जना पूर्व खेलाडी भेलाभई मैत्रीपूर्ण खेल सम्पन्न हुने र खेलाडीहरुको पुनमिलन भई भाइचारको विकास हुने र क्लब संगको सम्पर्क र विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ । पहिलो चरणको कार्यक्रमको संयोजन क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठले गर्नु हुनेछ ।
दोश्रो चरण
१. सम्मान तथा अभिनन्दन कार्यक्रमः
क्लब पचास बर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा क्लबलाई यहाँ सम्म पु¥याउने योगदान दिनु हुने खेलाडीहरु, शुभचिन्तकहरु, सहयोगीहरु संघ संस्थाहरुको सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । आजिवन सदश्यहरुलाई प्रमाणपत्र वितरणको कार्यक्रम रहेकोछ । यस अवसरमा प्रमुख अतिथिको रुपमा यसै क्षेत्रका सांसद र बागमती प्रदेशका सांसदलाई विशिष्ट अतिथिको रुपमा रहने कार्यक्रम छ । यस अवसरमा क्लबका प्रगति तथा रणनीतिका र चूनौतिबारे प्रकाश पारिनेछ । यस अवसरमा स्वर्ण जयन्तीको अवसरमा क्लबको स्वर्ण जयन्तीको लोगो, ब्याच, टिसर्ट, मफुलर सार्वजनिकरण गरिनेछ । यसै गरी क्लबलाई शुभकामना, ब्यक्त गर्नु भई सहयोग गर्ने संघ सस्थाहरुलाई धन्यबादका साथै मायाको चिनो दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा हाल सम्म विजेता उपबिजेता भएका शिल्ड, ट्रफि प्रदर्शन गरिनेछ ।

२. सांगितिक तथा नेवा भ्वय् कार्यक्रमः
यसै अवसरमा क्लबका शुभच्छुक तथा अन्य क्लबसँग सम्वन्धित अतिथि, ब्यक्तित्व एवं शुभचिन्तकहरुलाई सम्मान गर्ने तथा यसै कार्यक्रममा सांगतिक कार्यक्रमका साथै नेवाः भ्वय् समेत राखिएको छ । मिठा गीतहरुसँगै साथीभाईहरुबीच पुराना कुराहरुको पुनर्मिलन एवं पुनर्ताजगीको वातावरण निर्माण गर्ने तथा क्लबलाई अझ सशक्त बनाउन यो कार्यक्रमले सघाउनेछ । क्लबका समर्पित पुस्ता पुस्ताका परिवारलाई एकतावद्ध बनाइ अग्रसर हुन यस कार्यक्रमले उत्साह दिनेछ । करिव पाँच सयको सहभागिता रहने यस कार्यक्रममा सहभागिताका लागि सहयोग राशी रु ३,०००÷– को टिकट विक्री कार्य आरम्भ भइरहेको छ । क्लबलाई आर्थिकरुपमा सशक्त बनाउन यस कार्यक्रमले सघाउनेछ भने आगामी कार्य एवं कार्यक्रमलाई प्रभावकारी बनाउन यसले टेवा दिनेछ ।
फुटबल जगतको सशक्तताका लागि समर्पित यस थ्री स्टार क्लबको स्वर्ण जयन्तीको अवसर आफैमा उत्साहजनक एवं प्रोत्साहित गर्ने अवसर हो भने यसै अवसरमा हुने विभिन्न कार्यक्रमले यो अवसरलाई अविश्मरणीय बनाउनेछ । यस महत्वपूर्ण अवसरकै बारे जानकारी गराउन आयोजित यस पत्रकार सम्मेलनलाई प्राथमिकता प्रदान गरी उपस्थित सम्पूर्ण पत्रकार मित्रहरुलाई यो अवसर तथा यसै अवसरमा हुने उत्साहजनक कार्यक्रमहरु प्रचार प्रसारमा यहाँको साथ रहने आशाका साथ उल्लेखित कार्यक्रमहरुमा हार्दिक निमन्त्रणा गर्दैै समाचार संकलन एवं सम्प्रेषणका लागि विनम्र अनुरोध गर्दछौं ।

ज्ञान बहादुर शाक्य धर्मेन्द्र राज शाक्य
अध्यक्ष, थ्री स्टार क्लब महासचिव, थ्री स्टार क्लब
सम्पर्क नं. ः

मिति ः २०८१ चैत्र २२ गते शुक्रवार ।