समुदायमा आधारित नभएका सहकारीले जनताको करोडौ पैसा ठग्योः अध्यक्ष विजुक्छे
भक्तपुर, पुस २३ गते
समुदायमा आधारित नभएका सहकारी संस्थाहरु धमाधम जनताको वचत लिएर भाग्न थालेको प्रति चिन्ता ब्यक्त गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले बाहिरबाट यता आएर स्थापना गरिएका ति सहकारीहरुले समुदायकै छोराछोरीको प्रयोग गरी जनताको पैसा संकलन गरी भाग्ने गरेकाले सचेत रहन आग्रह गर्नु भयो ।
झीगु ख्वप वचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभाको उद्घाटन तथा पीएचडी डाक्टर पास गरेका वचतका सदस्यहरुलाई सम्मानित गर्दै अध्यक्ष विजुक्छेले सहकारी नीति र निर्देशन नमान्ने सहकारी संस्थाहरु धेरै भाग्ने गरेको कुरा भक्तपुरमा भन्दा बाहिर बढी रहेको बताउँदै सहकारीले ब्यक्तिको फाईदाको लागि नभई समुदायको हितको लागि काम गर्नुपर्नेमा जोड दिनु भयो । करोडौ पैसा देखेपछि भाग्ने सहकारीहरुलाई कानूनी रुपमा पनि कार्वाही गर्न ढिल्ला हुने भएकाले बेलैमा समुदाय सचेत हुन आग्रह गर्नु भयो । औपचारिक कार्यक्रम जस्तै अनौपचारिकरुपमा पनि सहकारीको लगानी ठीक ठाउँमा भए नभएकोे बारे नियमन हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष विजुक्छेले सहकारीले बंैकले जस्तै बचत र ऋणको काम मात्र नगरी उत्पादन मूलक क्षेत्रमा सहकारीले गरिव जनताको उत्ठानका लागि कृषि पाशुपालन माछा पालनमा समेत सहयोग पुर्याउने गरी लगानी गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले बिग्रेपछि मात्रै आलोचना गर्ने भन्दा कमजोरी देख्ने बितिक्कै सम्झाइ बुझाई सपार्न सकिनेमा ध्यान दिन आग्रह गर्नु भयोे ।

कार्यक्रमका विशेष अतिथी भनपा ७ का जनप्रतिनिधी उकेश कवांले सहकारी मार्फत समाजबादी व्यवस्थाका लागि कम्यूनको अवधारणा बनाउनग योगदान दिन सकिने विचार ब्यक्त गर्नु भयो । पुंजीपति व्यवस्था भन्दा समाजबाद राम्रो ह्ुनुको कारण नैं आपूति व्यवस्था सहज हुनु भएकाले जनताको आवश्यकताहरुलाई आपूर्ति हुने गरी जनताको उत्पादन ब्यवस्थापन गर्न सहकारीहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिनु भयो ।
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्था खोल्न जति सजिलो छ त्यसलाई संस्थागत विकास गर्न गाह्रो हुने भएकाले नेतृत्व वर्ग सचेत हुुनुपर्नेमा जोड दिनु भयो । आर्दश आजाद माविका प्राचार्य समेत रहनु भएका किसीले सहकारी संस्थाका सदस्यहरुको रुची अनुसार सदस्यहरुको बौद्धिक, शारीरिक एवं उत्पादनमूलक क्षेत्रका कार्यक्रमहरु योजनाबद्ध रुपमा सञ्चालन गर्न सकियो भने संस्था दिगो हुने धारणा व्यक्त गर्नु भयो । उहाँले सहकारी संस्थाको आर्थिक पारदर्शिताले मात्रै संस्था र देशका लागि आर्थिक, सास्कृतिक, सामाजिक, राजनैतिक क्षेत्रमा योगदान दिन सकिने विचार ब्यक्त गर्नु भयो । संस्थाका सल्लाहकार विश्वराम कवांले सहकारी संस्थाले सदस्यहरुको उत्थानका लागि शीपमुलक तालिमहरु दिन आवश्यक भएको उल्लेख गर्दै उहाँले परम्परागत सिप वा अन्य रोजगारमुलक सिप सिकाएर भएपनि सदस्यहरुलाई सहकारीमार्फत सबल बनाउनुपर्नेमा जोड दिनु भयो ।
संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा भएको सो साधारण सभामा भक्तपुर जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले वचत तथा ऋण सहकारी संस्था भन्दा अहिले बहु उदेश्य सहकारीका नाममा खोलिएका सहकारीहरु जनताको पैसा लिएर भाग्न थालेको उल्लेख गर्दै भक्तपुर बचत संघले सदस्य संस्थाहरुलाई तालिम परामर्श दिदै अरु सहकारी भन्दा सबल र सक्षम बनाउन बनाइरहेको बताउनु भयो र उहाँले समुदायमा आधारित सहकारीमा मात्रै कारोबार गर्न जोड दिनु भयोे ।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव हरिकृष्ण दनेगुलुले आव २०७८।७९ को प्रगति प्रतिवदेन, कोषाध्यक्ष भुवन गोसाईले आव २०७९८।७९को आर्थिक प्रगति तथा २०७९।८०को अनुमानित बजेट सहित आर्थिक प्रतिवेदन र संस्थाका राकेश सुकुपायले संस्थाको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन २०७९ प्रस्तुत गरेको थियो । १ हजार ५ सय ४४ सदस्य रहेको झिगु ख्वप वचतले यस वर्ष ४२ लाख आम्दानी गर्न सफल भएको भन्दै संस्थाका अध्यक्ष बलराम गोसाईले सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक चेतनास्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताएका थिए । सो अवसरमा विशेष अतिथी उकेश कवां र संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले एईई परीक्षा उर्तिण विद्यार्थी, विभिन्न तालिम र प्रतियोगिताहरुमा सहभागि एवं उत्कृष्ठहरुलाई मेडल, पुरस्कार तथा प्रमाण पत्रहरु प्रदान गरेको थियो ।















