नगरकोट भ्रमण वर्ष अब सामुहिक भ्रमण वर्षको रुपमा मनाउने तयारी हुँदै

नगरकोट भ्रमण वर्ष अब सामुहिक भ्रमण वर्षको रुपमा मनाउने तयारी हुँदै
नगरकोट, भक्तपुर, फाल्गुन २८ गते
नगरकोट भ्रमण वर्ष २०८२लाई चाँगुनारायण नगरपालिकाको मात्र नभई बनेपा, मदनदेउपुर र शंखरापुर नगरपालिकाको साझा भ्रमण वर्ष बनाउने भन्दै आज नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२को सन्दर्भमा अन्तर नगरपालिका पर्यटन व्यवसायी र संचारकर्मीहरुको भूमिका विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । ४ वटै नगरपालिकाका जनप्रतिनिधी, पर्यटन व्यवसायी र पत्रकारहरु बीच भएको छलफल कार्यक्रममा भ्रमण वर्षभरीमा ५० लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित स्थानीय पर्यटन प्रवर्धनमा एकजुत हुन छलफल गरेका हुन ।


साँस्कृतिक र प्राकृतिक रुपले रमणिय नगरकोट क्षेत्र पुग्न अब कमलविनायक नगरकोट सडक राम्रो छैन भनेर भ्रमण बर्षलाई गिज्याउन नपर्ने चर्चा गर्दै भ्रमण वर्षले भक्तपुर जिल्लाको मात्र नभई देशकै पर्यटन प्रवर्धनमा टेवा पुग्ने गरी भ्रमण वर्षको तयारी र प्रचार प्रसार भईरहेको उल्लेख गरेका हुन । यी ४ वटै नगरपालिकाहरुले आआफ्नो क्षेत्रको पर्यटन प्रर्वद्धनमा नगरकोट भ्रमण वर्षलाई उपयोग गर्नुपर्ने चर्चा गर्दै सहभागि अतिथिहरुले भ्रमण वर्षले दीगो पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पर्यटन भनेको कथाको व्यापार भएको भन्दै नेपाल पर्यटन बोर्डका बजार व्यवास्थापक सुमन घिमिरेले सो अवसरमा भ्रमण वर्ष फलदायी बनाउन नेपाल पर्यटन बोर्डले नगरकोट भ्रमण वर्ष २०८२ वारे व्यापक प्रचार प्रसार गर्न थालेको उल्लेख गर्दै स्थानीय उत्पादन र कथालाई प्रभावकारी रुपले भ्रमण वर्षमा पस्किनुपर्नेमा जोड दिएका थिए भने भ्रमण वर्ष विज्ञ धनश्याम खतिवडाले नगरकोट भ्रमण वर्षलाई साझा भ्रमण वर्ष बनाउने सोचको विकास भएको भन्दै नगरकोट क्षेत्रको ऐतिहासिक एवं सांस्कृतिक परिचयको प्रस्तुतीसँगै अहिलेसम्मको नगरपालिका र वडास्तरमा भइरहेको तयारी बारे जानकारी दिएका थिए । भ्रमण वर्ष विज्ञ खतिवडाले भ्रमण वर्षको अवधिमा होटलहरुले ५० प्रतिशत आवासमा छुट दिनुपर्ने सहित भ्रमण वर्षका महत्वपूर्ण कार्यक्रमहरु बारे जानकारी दिएका थिए ।
कार्यक्रमका सभापति एवं नगरकोट भ्रमण वर्ष आयोजक चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षको नागरिक स्तरबाट तयारी गर्नुपर्ने चर्चा गर्दै उहाँले नगरकोटको ठुम्कोबाट २०८२ साल बैशाख १ गतेबाट सुरु हुने भ्रमण वर्ष २० औं वर्षसम्म पनि स्मरणीय हुने गरी मनाउनुपर्नेमा जोड दिएका थिए । यो भएन, त्यो भएन भन्ने भन्दा पनि आआफ्नो ठाउँबाट भ्रमण वर्षको तयारी हुनुपर्नेमा जोड दिदै नगर प्रमुख खत्रीले चाँगुले घोषणा र आयोजना गरेको भ्रमण वर्ष ४ वटै नगरपालिकाको सामुहिक भ्रमण वर्षको रुपमा मनाउन सके मात्रै नगरकोट भ्रमण वर्षले दीगो पर्यटन प्रवर्धनका लागि टेवा पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तरत्न शाक्यले नगरकोटको ऐतिहासिक टावर जीर्ण भईसक्दा पनि कानुनी अर्चनले मर्मत सम्भार र सौद्यकरण गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै भ्रमण वर्ष सफल पार्न बनेपा नगरपालिकाले पनि सहभागिता जनाउने बताए । नगरकोटको टावर क्षेत्र बास्तवमै बनेपा नगरभित्र रहेको चर्चा गर्दै नगर प्रमुख शाक्यले नगरकोट क्षेत्रमा प्रचुर पर्यटन विकासका संभावनाहरु रहेको बताए भने मदनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नगरकोट भ्रमण वर्षलाई उलब्धीमूलक बनाउन कमिकमजोरीलाई सुधार्नुपर्नेमा जोड दिदै नगर प्रमुख वाइवाले भ्रमण वर्षले मदन देउपुर क्षेत्रको पनि पर्यटन विकासमा सहयोग पुग्ने धारणा राखेका थिए । नगरकोट क्षेत्रका अधिकास होटलहरु मदन देउपुर क्षेत्रमै रहेको चर्चा गर्दै उहाँले व्यवसाय प्रर्वधनसँगै भौतिक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले नगरकोट भ्रमण वर्षको अवसरमा ऐतिहासिक शंखरापुर नगरको पनि भ्रमण वर्षको रुपमा विकास गर्ने सोच रहेको भन्दै उहाँले शंखरापुर नगरका ८ वाट ऐतिहासिक ध्वाकाहरुको विशेषताहरु सहित शंखरापुर नगरलाई चिनाउने र पर्यटन विकासको अवसरको रुपमा पनि लिने बताएका थिए ।
कार्यक्रममा पर्यटन व्यवसायी तथा भ्रमण वर्षका सल्लाहकार योगेन्द्र शाक्यले भ्रमण वर्षबाट सबै भन्दा बढी फाइदा नगरकोटका होटल व्यवसायिहरुले प्राप्त गर्ने भएकाले पनि व्यवसायी आफैले भ्रमण वर्षको तयारीमा जुत्न आवश्यक भएकोमा जोड दिएका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारसहितका सहभागिहरुले पर्यटन भ्रमण वर्षलाई उपलब्धीमूलक बनाउन गर्नुपर्ने विविध तयारी एवं सुधार्नुपर्ने विषयहरुमा सुझाव प्रस्तुत गरेका थिए । सहभागिहरुले नगरकोटको सरसफाई र बाटोघाटोको सुधार एवं पर्यटकहरुको सुविधाका सवालहरुलाई सुझावको रुपमा प्रस्तुत गरेका थिए ।