वीरधारा संरक्षण र उपयोगका लागि इतिहासविद्हरुको जोड

वीरधारा संरक्षण र उपयोगका लागि इतिहासविद्हरुको जोड
भक्तपुर, फाल्गुण ७ गते
भक्तपुरकी चेलीले निर्माण गरेको ऐतिहासिक वीर अर्थात राजलक्ष्मी धारा संरक्षणकालागि विज्ञहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । आज भन्दा १३७ वर्ष (वि.सं. १९३७ देखि १९४०) अघि वीर सम्मशेरले कान्तिपुरमा स्थापना गरेको वीर धारा उनका कान्छा महारानी श्री राजलक्ष्मीले आफ्नो व्यक्तिगत पहलमा स्थापना गरेको इतिहासविद्हरु बताउँछन् । महारानी श्री राजलक्ष्मीले वि.सं १९४४मा आफ्नै नीजि रु. ६ लाख खर्चबाट भक्तपुरका महत्वपूर्ण चोकहरुमा वीर धारा राख्न लगाएकी थिइन । आफ्नो माइती ठाउँमा पनि वीर धारा स्थापना गरेकीले यस धारालाई राज्यलक्ष्मी धारा भनेर पनि चिनिन्थ्यो ।


यस घाराका अध्ययता इतिहासविद् प्रा. हेमन्त सम्मशेर राणाले भक्तपुर नगरका २४ टोलहरु मध्ये १८ स्थानमा यो धारा रहेको आफूसँग प्रमाण रहेको बताएका छन् । आफ्नो पूर्खाले बनाएका ति धाराहरु ऐतिहासिक मात्र नभई बहु उपयोगी समेत रहेकाले यस धारामा मेलम्चीको पानी जोडेर अहिले पनि उपयोग गर्न सकिने कुरा बताएका छन् । भक्तपुर नगरको तौमढी, स्कुलढोका, दत्तात्रय, नाग पोखरी, जेँला टोल सहित महत्वपूर्ण चोकहरुमा यो धारा अहिले पनि हरेको उहाँले बताउँनु भयो ।
प्रा. राणाका शिष्य एवं इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले वीर धाराको उपयोगिता अहिले पनि रहेको चर्चा गर्दै यो धारा केबल धारा मात्र नभई बेलायत सहित युरोपीयन राष्ट्रहरुको तुलनामा नेपाल पनि विकास भइरहेको ऐतिहासिक प्रमाण रहेको बताएका छन् । सम्मकालिन विकास र प्रविधिको प्रतिक वीर धारा जस्तै युरोपीयन राष्ट्रहरु र बेलायतहरुमा पनि अहिलेसम्म पनि हुबहु यस्तो धारा रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक धारालाई संरक्षण गर्न स्थानीय तह र सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।
वीर सम्मशेरले वीर अस्पताल, वीर पुस्तकालय जस्तै वीर धाराहरु पनि स्थापना गरेको बताउँदै प्रा.डा. श्रेष्ठले पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्दा २५ दिनसम्म जलेर पनि बाँकी रहेको भक्तपुरको ऐतिहासिक पुस्तकहरु वीर पुस्तकालयमा संरक्षण गरेको स्मरण पनि गरेका छन् । यसबेला बनारस भन्दा पनि शैक्षिक गणतब्यको रुपमा भक्तपुर रहेको चर्चा गर्दै प्रा.डा. श्रेष्ठले चन्द्र सम्मेशरले दास प्रथा, सत्ति प्रथा उन्मुलन गरे जस्तै वीर सम्मशेरले पनि लोककल्याणका कार्यहरु गरेको कुरा प्रशंसनीय रहेको बताउनु भयो ।
जनतालाई हैजाबाट बचाउन सुद्ध पानी वितरणको व्यवस्था गर्न काठमाण्डौमा पोखरीबाट यसरी धाराहरु लान्दा डेर लाख सरकारी खर्च भएको चर्चा गर्दै इतिहासकार प्रा.राणाले ललितपुरमा धारा राख्ने बेला अंग्रेज इन्जिनियर घर फर्केपछि बंगाली इन्जिनियरको सहयोगमा भक्तपुरका २४ टोलमा यी धाराहरु जडान भएको हुनुपर्ने उहाँले बताए । आफूसँग भक्तपुरका १८ ठाउँका १८ घाराहरुको जीवन्त फोटोहरु रहेको उल्लेख गर्दै ति धाराहरुमा मार्टिन कम्पनी कल्कता उल्लेख रेहेको भन्दै उहाँले धाराको शीरमा बीर धारासँगै श्री राजलक्ष्मी शब्द पनि रहेको बताएका छन् । यसैले यस धारालाई भक्तपुरमा राजलक्ष्मी धारा पनि भनिएको उहाँले बताउनु भयो ।

आफू श्री राजलक्ष्मीको पारिवारिक सम्बन्धसँग गाँसिएको सन्तति भएपनि यो विषयमा आफू त्यति जानकार नभएको नेशनल बुक स्टोरका सञ्चालक जनार्दन कृष्ण श्रेष्ठ बताउँछन् । उहाँले यो ऐतिहासिक विषय भएकोले सबै मिलेर संरक्षण गर्नुपर्नेमा भने जोड दिनु भयो भने इतिहासकार प्रा.डा. श्रेष्ठले त्यति बेला कान्छी भन्ने चलन नभएकोले कान्छा महारानी राज लक्ष्मी भने चलन रहेको बताए । धारामा वीरसँगै राजलक्ष्मी शब्द पनि भएको पाइएपछि वीर धारासँग हेमन्त सर, जनार्दनको मात्र नभई भक्तपुरका नेवार समुदायको पनि नाता गाँसिएको उहाँले बताउनु भयो । राजलक्ष्मी ठिमीकी छोरी रहेको चर्चा गर्दै काठमाण्डौमा वीर धारा स्थापना पछि भक्तपुरमा आफ्नो लगानीमा थप वीर धारा स्थापना गरेको ऐतिहासिक प्रमाणहरुले पुष्टि गरेको उहाँले बताए ।
युरोपका विभिन्न सहरहरुमा देखेको धाराहरु र यहाँको वीर धाराहरु हुबहु उस्तै रहेको विज्ञान प्रविधिले आफूलाई गर्वाम्भित गराएको उल्लेख गर्दै उहाँले टोल टोलमा अहिले यो धारा उपयोग गरी दमकल छिर्न नसक्ने ठाउँमा समेत आगलागि नियन्त्रणकालागि र जल सम्बन्धि समस्याहरुको सम्बोधन गर्न सकिने उल्लेख गरेका छन् । वीर धारामा तिब्रधारमा पानी बग्ने गरेको उल्लेख गर्दै प्रा.डा. श्रेष्ठले यसको प्रचार प्रसार र संरक्षणले भोली पर्यटन प्रर्वधनमा पनि टेवा पुग्ने भएकोले हराइसकेको र मेति सकेको भए पनि यी धाराहरु सयौं वर्ष पूरानो भइ सकेकाले हाम्रो पहिचान झक्निे सम्पदा समेत भइ सकेको बताउनु भयो । ठिमीकी चेलिले बनाएको भएर ठीमीमा पनि यस्तो धाराहरु हुनुपर्ने चर्चा गर्दै उहाँले यस विषयमा थप स्थानीय तहका जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउन चाहेको बताए । लोकको हितकालागि भक्तपुरकी अर्थात मध्यपुरकी छोरी राजलक्ष्मीले गरेको पुण्य कार्य अहिलेको समाजकोलागि पनि उपयोगि भएकोले यसको संरक्षण प्रर्वधनमा उहाँहरुले जोड दिएका हनु ।