कालोबजारी गर्ने जोकोही व्यवसायीलाई पनि कार्वाही हुन्छ ! प्रहरी अ.महानिरीक्षक बज्राचार्य
भक्तपुर, असोज २१ गते
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले दशैको मुखमा कालोबजारी गर्ने, अभाव सृजना गर्ने जो कोहीलाई बाँकी नराख्ने चेतावनी दिएका हुन । व्यवसायमैत्री वातावरणकालागि प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको भूमिका विषयक भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि विभिन्न व्यवसायीहरुलाई समेत उहाँले अनियमितता गरेमा कार्वाही गर्ने चेतावनी दिएका हुन । प्रहरी र प्रशासनले मात्रै व्यवसाय मैत्री वातावरण नबन्ने चर्चा गर्दै उहाँले व्यवसाय आफै पनि यसमा जिम्मेवार हुनुपर्ने औल्याएका थिए भने उहाँले चाडपर्व लक्षित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाएको बताउनु भयो । चाडपर्वमा सवारी दुर्घटना बढ्ने चर्चा गर्दै व्यवस्थित सडक, अनुशासित चालक र सवारी साधन सुरक्षित गर्न सके दुर्घटना न्यूनिकरण हुने बताउनु भयो । साथै उहाँले ट्राफिक प्रहरीमा समेत सवारी चालकहरुले कहाँनेर गल्ति गर्लान र कार्वाही गरौला भन्ने मानसिकता भन्दा गल्ति नगरोस र कार्वाही गर्न नपरोस् भन्ने उदेश्यले सर्वसाधारणमा ट्राफिक सचेतनाको आवश्यकतामा जोड दिनु भयो । भक्तपुर जिल्ला प्रहरी कार्यालयमा एसपी हुँदाको कुरालाई स्मरण गर्दै उहाँले अब ट्राफिक कार्बाहीमा परेकाहरुले टिबिआर लिंगमार्फत नागरिक एपमा समेत जोडेर घरमै बसेर अनलाईमार्फत ट्राफिक कक्षा लिन सकिने भएको अवगत गराउनु भयो ।


भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सहभागि व्यवसायीहरुले उठाएका व्यवसायी समस्याहरुलाई सहजिकरण कार्य भएको उल्लेख गर्दै वातावरण प्रदुर्षण हुने कुनै पनि उद्योगलाई छुट नहुने उल्लेख गर्दै प्रचलित नियम अनुसार कर तिराएर व्यवस्थित रुपमा व्यवसाय प्रवर्धनमा प्रशासनले कार्य गर्दै आएको बताउनु भयो । ट्रयाक्टरमा राखेर कपास बनाउनेका कारण पसल नचलेको गुनासोको सुनुवाई गर्दै प्रजिअ श्रेष्ठले कसैलाई पनि नियम मिचेर व्यवसाय गर्ने छुट नभएको बताउनु भयो । सडक सुशासनकालागि ट्राफिक व्यवस्थापनमा समस्या रहेको भन्दै उहाँले मध्यपुर थिमीको माइक्रोबस स्थानान्तरण गरी सभिर्स लेन व्यवस्थित गर्ने योजना खुल्ला ठाउँको अभावले छलफलमै रहेको उल्लेख बताउनु भयो । उहाँले यसमा स्थानीय तहले जिम्मेबारीता लिनुपर्ने बताए । रात्रिकालिन होटल सेवा, छाडा कुकुर व्यवस्थापन, ध्वनी प्रदुर्षण न्यूनिकरणका सवालहरुमा बोल्दै प्रजिअ श्रेष्ठले व्यवसाय मैत्री वातावरण बनाउन कर छुहावट रोक्न आन्तररिक राजश्व कार्यालयसँग समेत छलफल भएको बताउनु भयो । उहाँले व्यवसाय मैत्री वातावरण बनाउन व्यवसायीहरुले पालना गर्नुपर्ने ६ वटा विवरणहरु सार्वजनिक गर्ने तयारी भएको बताउनु भयो ।
कार्यक्रमका अर्का विशेष अतिथि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहोराले काठमाण्डौ उपत्यकाको जनसख्या ३० लाख २५ हजार ३८६ जनसख्या भए पनि बसोवास गर्नेको संख्या ५० लाखभन्दा बढी रहेको र बागमती प्रदेशमा दर्ता भएको सवारीको सख्या १९लाख ४२ हजार ७२ र उपत्यकाको सडक २ हजार ३९२ किमी भएको चर्चा गर्दै भएका १८३५ जनशक्तिले ट्राफिक व्यवस्थापन गर्दा एक जना ट्राफिक प्रहरीले २५ किलोमिटर भन्दा बढी क्षेत्र हर्नुपर्ने बाध्यता रहेको औल्याए । जहाँ गएपनि छिटो पुग्नुपर्ने, हतार गर्ने बानिले सवारी दुर्घटना बढेको उल्लेख गर्दै उहाँले लाइट अनुशासन, ओभर स्पिड, क्षमता बन्दा बढी भार बोक्ने लगायतकालाई कार्वाही गर्नु भन्दा सचेतनामा आफूहरुको ध्यान केन्द्रीत भएको चर्चा गर्दै उहाँले ढिलो गरे अवश्यक पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने भनाईलाई आत्मसाथ गरे सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
आयोजक समिति भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जाको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकी, सशस्त्र प्रहरी बल नं २२ हेक्वा, सशस्त्र प्रहरी उपरीषक, बासुदेव लोहनी, जिल्ला प्रहरी परिसर, प्रहरी नायब उपरीषक ढुण्डीराज न्यौपाने, प्रहरी बृत्त जगातीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसी, जिल्ला ट्राफिक प्रहरी परिसर, ट्राफिक प्रहरी निरीक्षक प्रदिप खत्री सहित संघका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकार, शिवप्रसाद मानन्घर सहितको आतिथ्यतामा सो कार्यक्रम संघको सभाहलमा आयोजना भएको थियो ।













