नवदुर्गाको ऐतिहासिक उजांपा (फुलबारीको बगैचा)मा क्षमा पूजा

नवदुर्गाको ऐतिहासिक उजांपा (फुलबारीको बगैचा)मा क्षमा पूजा
भक्तपुर, असोज २१ ग्ते
भक्तपुरको ऐतिहासिक नवदुर्गा गणको उजांपा (फूलबारीको बगैचा)कोे संरक्षण थालिएको छ । स्थानीय समुदाय र समाजसेवी रुद्रशेखर दुमरुको आर्थिक सहयोगमा बगैचा पुग्ने बाटो र सिढिहरु तथा मन्दिरको संरक्षण एवं थप गणेश मन्दिर निर्माण कार्य भएको हो । चाँगुनारायण नगरपालिका वडा नं. ९स्थित इथुलीमा रहेको नवदुर्गाको उजांपा क्षेत्रको संरक्षण अभियान सुरु गएको उजांपा नवदुर्गा अस्तमातृका संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर तुल्सीबाख्योले जनाएको छ । करिब १ रोप्नी क्षेत्रफलमा रहेको सो नवदुर्गाको बगैचा अचेल एक आनामा मात्र सिमित रहेको बताउँदै थप जग्गाको खोजी र तारबार लगाएर संरक्षण गर्नुका साथै पुननिर्माण कार्य हुने उहाँले बताए । संस्कृतिविद्हरुसँग परामर्श गरी ऐतिहासिक क्षेत्रको धार्मिक तथा साँस्कृतिक विकास गरी पर्यटन प्रवर्धन गर्ने उदेश्यले पनि संरक्षण कार्य भइरहेको उहाँले बताए । हरेक वर्ष तलेजुबाट समेत बौ राख्न आउने परम्परा रहेपनि हाल लुप्त भइसकेकाले सो ऐतिहासिक कार्य पुनः जीवित गर्नुपर्नेमा जोड दिदै आज विभिन्न दाफा भजनहरु मिलेर संरक्षण कार्यमा जुतेका हुन । उजांपा क्षेत्र पहिरोको जोखिममा रहेकाले संरक्षणको आवश्यकतामा जोड दिदै स्थानीय समुदायले गणेश मन्दिर स्थापनासँगै क्षमा पूजा गरेको बताए ।


विजया दशमीको महानवमीका दिन नवदुर्गा गणका शक्तिरुपी देवदेवीहरु सोही स्थानमा आएर ब्रम्हायणी पीठमा खम्ये रुपी महेसासुरको बद् गर्ने परम्परागत मान्यता रहकाले सो दिन सो बगैचा वरपर आउजाउ गर्न नहुने धार्मिक विश्वास रहेको स्थानीयको भनाई छ । केही परम्परागत ईटाले बिछ्याएको जमिनमा अमृत मृर्तिहरुलाई पूज्दै आएका भक्तजनहरुले अब मन्दिरको स्वरुपमा पूजा गर्न सकिने गरी मन्दिर बनाउने तयारीमा रहेको बताए । नवदुर्गा गण जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले वर्षको दुई दिन सोही बगैचामा आएर सिफो स्वं फुल टिपेर नवदुर्गा गणलाई चढाउने परम्परा रहेको बताए । नवदुर्गालाई नभई नहुने र सोही स्थानमा मात्रपाईने सिफो स्वं संरक्षण पनि हुनुपर्नेमा जोड दिदै अध्यक्ष बनमालाले नवदुर्गा स्थापनासँग जोडिएकोले नवदुर्गाको उजांपा (फुलबारीको बगैचा) रहेको बताए । उजांपाबाटै बगैचालाई उद्यान भन्ने चलन विकास भएको भन्दै स्थानीय समाजसेवी राजाराम चवालले ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय जनता पनि जुतेको बताए । सो क्षेत्रको संरक्षणसँगै ऐतिहासिक बगैचामा सिफो स्वंसँगै विभिन्न फुलहरु रोप्ने अभियान्ताहरुको योजना बनाएका छन् ।