तःमुज्यामा हामीले के लेख्ने? नेमकिपा अध्यक्ष विजुक्छेले दिनु भयो, प्रशिक्षण

तःमुज्यामा हामीले के लेख्ने? नेमकिपा अध्यक्ष विजुक्छेले दिनु भयो प्रशिक्षण
भक्तपुर, भाद्र २ गते
नेपाल भाषा साहित्य तःमुज्यामा वाचन हुने रचनाहरुले जनताको मुटु छुने र देशको क्यान्भास आउने गरी लेख्नुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले आज भक्तपुरका साहित्यकारहरुलाई मार्ग निर्देशित गर्नु भएको छ । ४४ औं तःमुज्या ग्वसाखलले आज भक्तपुरमा आयोजित यसपालिको तःमुज्यामा हामीले के लेख्ने? मुख्य विषयहरुमा प्रशिक्षण दिनु हुँदै अध्यक्ष विजुक्छेले जनताको साहित्य जनताको भाषामा बुझ्ने गरी साहित्य सृजना हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेले साहित्यहरु सरल र यर्थाथपरक हुनुपर्ने चर्चा गर्दै समाचार साहित्य हुन नसक्ने बताउनु भयो । समाचार लेख्दा कानुन लाग्न सक्छ, साहित्य लेख्दा त्यस्तो हुँदैन अध्यक्ष विजुक्छेले भन्नु भयो ‘शब्द र भाषाहरु सृगारेर साहित्य मार्फत जनतालाई सचेत र संगठित पार्नुपर्छ ।’


शासकहरुले धर्म मार्फत राजनीति गर्दै आएको छ । जनताले यसलाई बुझ्न सकेको छैन्, भगवानको नाममा पूजा गर्दै बसेका छन् । त्यसकारण धर्म पनि राजनीति हो, जनतालाई बुझाउनुपर्छ, अध्यक्ष विजुक्छेले भन्नु भयो ।
४४ औं तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा आयोजित सो प्रशिक्षण कार्यक्रममा तःमुज्या मु गुठीका अध्यक्ष आशाकुमार चिकंबन्जाले साहित्यका ४ विधाहरुको चर्चा गर्दै मानव समाजको विकाससँगै त्यसलाई सम्भिराख्नकालागि पनि साहित्यहरु सृजना भएको बताउनु भयो । अधिकांसले कविता लेख्ने गरेको चर्चा गर्दै तःमुज्याका अध्यक्ष चिकंबन्जाले साहित्यका तत्वहरुलाई बुझेर लेख्न सके मात्रै त्यसको महत्व झल्किने धारणा राख्नु भयो ।


अध्यक्ष विजुक्छे र सहभागि लेखकहरु बीच तःमुज्याका लागि लेखिने साहित्यले देश, विदेशका राजनैतिक, सामाजिक घटनाक्रमका विषयहरुलाई जनपक्षियरुपमा कसरी लेख्न सकिन्छ? भन्ने विषयमा अन्तरक्रिया समेत भएको थियो ।
४४ औं तःमुज्या ग्वसाखलका सचिव सञ्जय मानन्धरले साहित्य लेखकहरुलाई विधागत प्रशिक्षणहरु दिएर तःमुज्यामा थप प्रभावकारी साहित्य सृजना गर्न प्रोत्साहित गर्ने कार्यक्रम रहेको जानकारी दिई सम्पन्न गरेको सो प्रशिक्षणमा तःमुज्याका सल्लाहकार एवं जनकवि चन्द्रबहादुर उलक सहित साहित्यकार एवं लेखकहरुको सहभागिता थियो । सो प्रशिक्षण ४४ औं तःमुज्याको साहित्य समितिले आयोजना गरेको तःमुज्याका विकुराम तजलेले बताउनु भयो ।