विश्व पर्यटन दिवसको अवसरमा साँस्कृतिकर्मीहरु सम्मानित हुँदै
भक्तपुर, असोज १० गते
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही सापारु २०८० मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवं आधुनिक सांस्कृतिक विधाहरुलाई पुरस्कार वितरण तथा साँस्कृतिक गुरुहरु र पर्यटन सम्बद्ध संघ संस्था व्यवसायी र सहयोगीहरुलाई सम्मान कार्यक्रम गरेको छ । भक्तपुर दरवार क्षेत्रमा आयोजित सो कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजना भईरहेको हो । नगर प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी, वागमती प्रदेश सांसद सुरेन्दराज गोसाई, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रहरी उपरीषक वेद विष्टका साथै सुरक्षानिकायका प्रमुखहरु, ईतिहासविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठ, स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरका अरुणा नकर्मी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा अतिथीको रुपमा रहेका छन् ।
कार्यक्रममा भनपा७का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विघाहरुको मुल्यांकनको समीक्षा प्रस्तुत गरेका थिए भने नगर प्रमुखले कार्यक्रममा स्वागत मन्तव्य गर्नु भयो । विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुतीसँगै अतिथीहरुको मन्तव्य जारी छ । कार्यक्रम भक्तपुर नगरको दरवार क्षेत्र स्थित लाँपाङ देग प्रांगणमा जारी छ। यस कार्यक्रमलाई रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनबाट प्रत्येक्ष प्रशारण भइरहेको छ ।













