अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुरमा बक्सिङ्ग खेल प्रदर्शनी

अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुरमा बक्सिङ्ग खेल प्रदर्शनी
भक्तपुर, भाद्र १० गते
अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा भक्तपुर बक्सिङ्ग संघले आज बक्सिङ्ग खेल प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १०स्थित खेल प्रशिक्षण हलमा प्रशिक्षण लिइरहेका खेलाडीहरुलाई रिङ्गमै उत्रारेर खेल प्रदर्शनी र प्रतियोगिता आयोजना गरेको हो । विभिन्न उमेर समूहका ६ जोडा खेलाडीहरु बीच भएको सो बक्सिङ्ग प्रर्दशनीमा खेलाडी, रेफ्रि, स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले हरेक नागरिकलाई खेलमा आबद्ध गराएर राष्ट्रिय स्वाधिनता र सार्वभौकिता रक्षाकालागि लड्न सक्ने अनुशासित नागरिक तयार पार्नुपर्नेमा जोड दिनु भयो । नगरवासीहरुलाई स्वस्थ र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले हरेक वर्ष वडा, नगर स्तरीय र अन्तरनगर स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै उपप्रमुख जोशीले विद्यालयस्तरबाटै खेल र खेलाडी उत्पादनका लागि प्रशिक्षकहरु समेत नियुक्ति गर्दै आएको बताए । भक्तपुर सांस्कृतिक नगर भएरपनि खेल गतिविधिमा पनि सक्रियता देखाउँदै आएको चर्चा गर्दै उपप्रमुख जोशीले हरेक नागरिक खेलाडी हुनुपर्छ, हरेक खेलाडी देशभक्त र अनुशासित हुनुपर्छ, भन्नु भयो ।


बक्सिङ्ग खेलप्रतिको माया र लगाब भक्तपुरका प्रशिक्षक र खेलाडीहरुमा देखेको चर्चा भन्दै नेपाल बक्सिङ्ग महासंघका महासचिव मानबहादुर भण्डारीले सो अवसरमा धेरै ठाउँमा खेल र राजनीति जोड्नु हुँदैन भन्दै आएकोमा भक्तपुरको अभ्यास हेर्दा सौहार्दपूर्ण रुपमा खेल र राजनीतिसँगसँगै लानुपर्ने देखिएको प्रष्टाउनु भयो । देश विदेशमा बक्सिङ्ग खेलको विकासमा भक्तपुरका उत्कृष्ठ खेलाडीहरु विजय बाटा, अस्मिता दुवाल, शिक्षक केदार तुईतुई, केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, जिल्ला अध्यक्ष रामकृष्ण प्रजापतिकोे योगदानको चर्चा गर्दै महासचिव भण्डारीले भक्तपुर कला संस्कृतिमा धनि र अनुशासित शहर भएको बताउनु भयो । विश्व बक्सिङ्ग दिवसको अवसरमा छोटो समयमा भक्तपुरमा खेल प्रदर्शनी आयोजना गरी खेल विकासमा हौसला बढाएको बताउँदै उहाँले बक्सिङ खेलको विकासकालागि नवगठित महासंघको नेतृत्वले देशभरी खेल गतविधि प्रतियोगिताहरु गर्ने क्यालेण्डर बनाउने तयारी थालेको बताए ।


भक्तपुर वक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको सो प्रदर्शनीमा पूर्व नगर खेलकुद समितिका पूर्व अध्यक्ष एवं भनपा ७का वडाध्यक्ष उकेश कवांले आर्थिक अनुशासनले मात्रै खेल विकास हुन सक्ने र खेलाडीको भविष्य पनि बन्ने बताए । मेहनत र अनुशासनले नै भविष्य बन्नेमा जोड दिदै जनप्रतिनिधी कवांले वक्सिङ्गको इतिहास हेर्दा समाजबादी देशहरुले खेलमा जितेको देखेर भक्तपुरमा पनि बक्सिङ्ग खेलको विकास भएको बताए । महाराष्ट्र ठूला देशहरुलाई हराउँदै जब सानो देश क्युवाले ११ स्वर्ण पदक जित्यो, त्यसैको हौसलाले २०५१ साल देखि भक्तपुरमा बक्सिङ्ग खेलको प्रशिक्षण र विकास भयो उहाँले स्मरण गर्नु भयो ।
भक्तपुर नगर युवा तथ खेलकूद समितिका अध्यक्ष एवं भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले विद्यालय स्तरबाटै खेल क्षेत्रको विकासकालागि वर्षेनी १४ वटा खेलहरु समेतेर विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताए । नगरवासीहरुको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण सहित खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखि नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार २०५१ सालमै नगर खेलकूद समिति गठन गरी बक्सिङ्ग सहित विभिन्न खेलहरुमा विद्यालयस्तरबाटै खेल प्रशिक्षण दिएर नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्दै आएको उहाँले बताए ।
उपप्रमुख रजनी जोशी श्रेष्ठलाई ग्लोबस् हस्तान्तरण गरी सुरु भएको अन्तर खेलाडी (प्रशिक्षार्र्थी) वक्सिङ्ग प्रदर्शनी प्रतियोगितामा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी जोशी सहित अतिथीहरुले विजेता खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए भने संघका अध्यक्ष रामकृष्ण प्रजापतिले अतिथीहरुलाई मायाँको चिन्ह प्रदान गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस भक्तपुरमा पनि मनाएको हो ।