सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस

सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस

सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताउनुभएको छ । उहाँले भन्नुभयो “कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्दै रक्षा गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षालाई सफल बनाउन सम्पूर्ण समुदाय समान अवसर र न्याय प्रत्याभुति गर्ने राज्यको निति रहेकोले आदिवासी जनजातिको सामाजिक आर्थिक र साँस्कृतिक पक्षको विकास गरि राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा पहुँच र प्रतिनिधित्व सुनिश्चित हुँदै जाने विश्वास लिएको छु ।”

त्यस्तै कार्यक्रमका विषेश अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सभाको सभामुख जनजातिको छोरी हुनु नै गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “खस भाषाको उद्गम थलो नै कर्णाली हो त्यसैले कर्णालीको  सभ्यता र पहिचान बचाउनकालागि सबैले हातेमालो गर्न जरुरी गरहेको छ ।”

कार्यक्रमका सभापति अशोक राजी आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुलाई पनि समेटेर कार्यक्रम गरिने बताउँदै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने विभिन्न जातिय संस्था एवं राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न जातिय संस्थाले आआफ्नो पहिचानको झाँकी प्रस्तुत गरेका थिए । वीरेन्द्रनगर बजार परिक्रमा गरेको झाँकीको प्रमुख आकर्षण नेवा समुदायको धिमे बाजा र लाखे नृत्य रहेको थियो । महासंघका सचिव भीम गुरुङ्ग खाम्पाले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङ्गले स्वागत गर्नुभएको थियो ।