तुमचो दुगुरे चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरण शुभारम्भ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ तुमचो दुगुरे चोखा आवास क्षेत्रमा आज एक कार्यक्रमबीच शुद्ध खानेपानी वितरणको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल जलस्रोतको धनी देश भए पनि पानीको अभाव हुनु बिडम्बनाको विषय भएको बताउँदै आधारभूत पिउने पानीको सुविधा नपाउँदा स्थानीयहरु समस्यामा परिरहेको बताउनुभयो ।

निर्वाचन घोषणापत्रअनुसार खानेपानी समस्या समाधान गर्न जनप्रतिनिधिहरु निरन्तर प्रयासरत रहेको बताउँदै प्रमुख प्रजापतिले मेलम्ची खानेपानी भक्तपुरमा वितरणसँगै जनताले केही राहत महशुश गरेको बताउनुभयो ।

भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता रहेको बताउँदै उहाँले खानेपानीको उचित सदुपयोग गर्न समेत वडाबासीहरुलाई आग्रह गर्नुभयो ।

फोहोरमैला व्यवस्थापनमा भक्तपुर नपाले गर्दै आएको गतिविधिबारे अवगत गराउँदै उहाँले घरघरबाट निस्कने कुहिने र नकुहिने फाहोर अलग अलग संकलन गर्न सके नपालाई फोहोर व्यवस्थापन गर्न निकै सहज हुने बताउनुभयो ।

त्यस्तै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाभित्र खानेपानी स्रोत नै नभएको हुँदा खानेपानी अभाव भएको बताउँदै नगरबाबासीहरुलाई शुद्ध खानेपानी वितरण गर्न नपाले ठाउँ ठाउँमा डीप बोरिङ कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

उहाँले भक्तपुरमा मेलम्चीको पानी ल्याउन भक्तपुर नपाको विशेष पहलमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको बताउँदै तुमचोमा आजदेखि खानेपानी वितरण हुने अवगत गराउनुभयो ।

कार्यक्रममा नेमकिपा तुमचो दुगुरेका पार्टी इन्चार्ज जगन्नाथ प्रजापति, उपभोक्ता समितिका कोषाध्यक्ष छोरीमैया सुजखू, सहसचिव विष्णुराम दुमरु, खानेपानी डिभिजन कार्यालयका वसन्तकुमार विमल, समितिका सचिव लक्ष्मीप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले तुमचो दुगुरे खानेपानी ट्यांकी निर्माणमा सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसापत्र र मायाको चिनो वितरण गर्नुभएको थियो ।