श्रमजीबी सहकारीको २४ औं वार्षिक साधारण सभाः समाजका हरेक क्षेत्रको विकास गर्न सहकारी
भक्तपुर, असोज ८ गते
आजभोलीका मानिसहरु भाषण सुन्न मन नपराउने गरेको ठिक नभएको भन्दै नेपाल क्रान्तिकारी किसान संघका उपाध्यक्ष गोविन्द दुवालले एमसीसी, नागरिकता विद्येयक बारे जनता सचेत नभए देशको सार्वभौमिकता खतरामा पर्ने जनाएका छन् । नागरिकता विद्येयकले एक प्रदेश एक मदेश जस्तो देश विखण्डनले प्रसय पाउने बताउँदै आफूले भन्नेको कुराहरु लेखेर राख्न आग्रह गर्नु भयो । श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका विशेष अतिथी दुवालले नेमकिपाले गरेको मोहियानी हक, भपाई आन्दोलनकै कारण किसानहरुले आफ्नो हक स्थापित गरेको उल्लेख गरेका थिए ।

बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले श्रमजीवी साकोसको२४ औं वार्षिक साधारण सभाको शनिबार कमलविनायकमा उद्घाटन गर्दै जनताको सांस्कृतिक स्तर उकास्न सके मात्रै समाज सोचे जस्तै अगाडी बढ्न सक्ने बताउनु भयो । आर्थिकसँगै साँस्कृतिक रुपले समाजलाई उकास्न सहकारी संस्थाको भूमिका महत्वपूर्ण भएकाले नयाँ पुस्तालाई सहकारी मार्फत जनताको आर्थिक, सांस्कृतिक, शैक्षिक र राजनैतिक स्तर उकास्न आपसी सहयोगको आवश्यकतामा जोड दिनुभयो । समाजका हरेक क्षेत्र मजबुत पार्न, उत्कृष्ठ बनाउन सहकारी एउटा माध्यम भएको भन्दै अतिथी गोसाईले सहकारीका पदाधिकारीहरुले जिम्मेबारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नु भयो । भूकम्पमा झै समाजलाई आवश्यक परेको बेला, समाजलाई संकट परेको बेला नाफा नहेरी सहयोग गर्ने संस्थाको रुपमा सहकारी संस्था रहेको चर्चा गर्नु भयो ।
संस्थाका अध्यक्ष विकुलाल सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णेश्वरी मचामसी प्रजापतिले संघको सहकारी अभियान, अन्तरलगानी र तालिमहरु बारे चर्चा गर्दै समुदायमा आधारित सहकारीले मात्रै समाजको आर्थिक, सांस्कृति एवं विपन्नताको उठान गर्ने बताउनु भयो ।
सो अवसरमा भनपा ६ का वडाध्यक्ष डाक्टर हरिराम सुवालले जनताको बीचमा कोरोना, डेंगु जस्तै नसर्ने रोग लाग्नेको संख्या बढेको पाइएकाले जनस्वास्थ्य प्रति सचेत पार्न भक्तपुर नगरपालिकाले ख्वप अस्पतालको क्रमिक विकास गर्दै आएको बताउनु भयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सामाजिक अभियान्ता गणेशभक्त सितिखु, निर्वतमान अध्यक्ष गणेशलाल फोंजू, ख्वप इन्जिनियरिग कलेजका पूर्व प्रार्चाय राजुभाई त्यातले समाजको आर्थिक सांस्कृतिक विकासकालागि सहकारी संस्थाको भूमिका बारे आआफ्ना विचार ब्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष एवं ऋण उपसमितिका संयोजक गोबिन्द राम त्वानाबासुले स्वागत मन्तव्य ब्यक्तगर्नु भएको सो कार्यक्रममा बेगविनायक दाफा भजन मण्डली, नेपाल क्रान्तिकारी सांस्कृतिक संघ भनपा ६ले सांस्कृतिक बाजा र फाकंदली नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा प्रमुख अतिथी सुरेन्द्रराज गोसाईले संस्थाका असल ऋणी रुकेश सितिखु, ईश्वरी बनलाई प्रशंसा पत्र तथा मायाको चिने वितरण गरेका थिए भने विशेष अतिथी गोविन्द दुवालले असल नियमित बचतकर्ताहरु पञ्चबहादुर त्यात, लक्ष्मीकेशरी त्यात सुवाललाई प्रशंसा पत्र र मायाको चिनो वितरण गर्नु भयो यसै बीच भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले असल बाल बचतकर्ताहरु नवयुग सिजख्व, श्रीया त्यातलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमका अतिथीहरुलाई मायाको चिनो वितरण गर्दै अध्यक्ष विकुलाल सुवालले कोरोना माहामारी बीच अपेक्षाकृत प्रगति हुन नसकेपनि आव २०७९ भाद्र २० गतेसम्म संस्थाको कूल सम्पति ६७,०८,०१,४००, जगेडा कोष रु ४,४०,९९,१८५,शेयर पूँजी ४,४८,३२,१०० पुगेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायणप्रसाद लागेले वार्षिक आय । ब्यय प्रतिबेदन, सचिब जयराम लागेजुले वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण संयोजक सुरेन्द्रप्रसाद दुवालले लेखा सुपरिवेक्षण प्रतिवेदन २०७९ प्रस्तुत गरेका थिए ।













