भक्तपुर बचतको २५औं साधारणसभा सम्पन्न
भक्तपुर, ८ असोज– भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारणसभा संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुृक्छेँले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहकारीको अवधारणा नै कृषि क्षेत्रबाट आएको स्मरण गर्नुभयो । उहाँले निस्वार्थ रुपमा जनताको सेवा गर्नु नै सहकारीको मुख्य उद्देश्य भएको स्पष्ट पार्नुहुँदै कृषि क्षेत्रका लागि काम नगर्ने सहकारी नक्कली सहकारी भएको बताउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको संरक्षकत्वमा भक्तपुर आदर निकेतनको सञ्चालनको निर्णय हुनु सराहनीय रहेको धारणा राख्नुभयो । उहाँले भक्तपुरको सहकारी अन्य जिल्लाका लागि नमूनाको रुपमा काम गर्नुपर्ने औंल्याउनुभयो । साथै देशको आर्थिक अवस्थालाई २०÷३० जना ठूला व्यक्तिले हल्लाइरहेको स्पष्ट पार्दै मजदुर र किसानलगायतले व्यापक जनताले देश बनाउने धारणा राख्नुभयो । सरकारले नगरेको काम सहकारीले गरी देखाउनुपर्ने उहाँको भनाइ छ । संकटमा भक्तपुरबाट सिक्न आउने विभिन्न जिल्लाका लागि उदाहरणीय बन्न सुझाव दिनुहुँदै उहाँले हाम्रो कला र संस्कृति हामी आफै बनाउनुपर्ने औंल्याउनुभयो । सहकारी संस्था नै एउटा विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने बताउनुहुँदै उहाँले समाजका लागि आवश्यक क्षमतावान व्यक्ति सहकारीबाट तयार गर्नुपर्ने औंल्याउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कान्छाभक्त घजुले आ.व. २०७८÷०७९ का लागि भक्तपुर बचत भक्तपुर जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएकोमा बधाई दिनुहुँदै अन्य सहकारीका लागि भक्तपुर बचत प्रेरणादायी बनेको स्पष्ट पार्नुभयो ।
संस्थाका सल्लाहकार विष्णु गोपाल कुसीले शिक्षामूलक, सेवामूलक, चेतनामूलक तथा सिपमूलक कार्य गरिरहेको भक्तपुर बचतले सदैव उदाहरणीय कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।
सामाजिक, सांस्कृतिक, आर्थिक, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा सेवा गरेका विविध व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष बेला बादनका गुरु आशाकाजी खोंजू, विभिन्न जात्रा, पर्व, आन्दोलनलगायतमा पानी खुवाई सेवा गर्नुहुने लतंभक्त प्रजापति र ४५ वर्षदेखि निरन्तर नर्सिङ सेवामा आवद्ध मैया प्रजापतिलाई प्रमुख अतिथिबाट दोसल्ला र कदरपत्रबाट सम्मान गरेको उक्त कार्यक्रममा संस्थाका तीन सय चार जना असल ऋणी घोषणा गरी ऋणमा एक प्रतिशत छूट प्रदान गरेको थियो ।
उक्त साधारण सभाबाट सचिव लक्ष्मी प्रसाद कुसीद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७८÷०७९ को वित्तीय विवरण तथा २०७९÷०८० को अनुमानित वार्षिक बजेट, संयोजक कृष्णसुन्दर प्रजापतिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षक अच्युट पाण्डे एण्ड एसोसियटको लेखा परीक्षकको प्रतिवेदन, निर्वाचन निर्देशिकाको तीन महलीय संशोधन, आ.व. २०७९÷०८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, आ.व. २०७८÷०७९ का लागि शेयर लाभांशलगायतका प्रस्ताव बन्दसत्रको सभाबाट पारित भएको छ ।
बन्दसत्रको सभामा सल्लाहकार कृष्णप्रसाद धन्छा, रत्नप्रसाद प्रजापति, ज्ञानसागर प्रजापति, बलराम प्रजापति, निर्मल प्रजापति, विष्णुकुमार प्रजापति, लक्ष्मी प्रसाद कुसी, रामप्रसाद प्रजापति, कृष्णसुन्दर प्रजापति, सत्यनारायण प्रजापति, जगनाथ प्रजापति, रामेश्वरी कोजू, सविन्द प्रजापति, रविन्द्र प्रसाद कुसीलगायतले बोल्नुभएको थियो ।
सभाले यही श्रावण १० गते भक्तपुर आदर निकेतनको जिल्ला प्रसाशन कार्यालय भक्तपुरमा लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी रहने गरी वैधानिक रुपमा दर्ता सम्पन्न भएको जानकारी गराएको छ ।