सामुदायिक रेडियोहरूको लागि निर्वाचन आचारसंहिता २०७९ जारी, निर्वाचन आचारसंहिता अनुसार समाचार प्रसारण गर्न आयोगको आग्रह ।।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबले निर्वाचन आचारसंहिता २०७९ जारी गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरि, महासचिब किशोरजंग थापा लगाएतले आचारसंहिता जारी गर्नुभएको हो । आचारसंहिता जारी गरेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको पालना गर्न तथा गराउन रेडियोहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्वाचनलाइ स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनको लागि आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले आचारसंहिता संहिता उल्लङ्घन नहुने गरि समाचार तथा बिचार प्रवाह गर्न पनि आग्रह गर्नुभयो । सामुदायिक रेडियोहरूले यसैपनि ग्रामिण भेगका नागरिकको बिषयलाइ प्राथमिकतामा राखेको , उनीहरूको सुख दुःखको बिषय उठाइरहेको भन्दै तल्लो तह सम्म निर्वाचनका सूचना तथा जानकारी दिने काम पनि गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । सबै पक्षको सुझाब र स्वीकृती लिएर निर्वाचन आचारसंहिता जारी गरेको भन्दै उहाँले यसमा कसैले पनि असहमति जनाउनु आवश्यक नरहेको बताउनुभयो । उहाँले आचारसंहिता उल्लङ्घन गरेर गरेका कार्यक्रमका दृश्य तथा फोटोहरू प्रकाशन, प्रसारण नगर्न बरू उक्त चुनाबी कार्यक्रममा आचारसंहिता उल्लङ्घन भएको थियो भने जानकारी गराइदिन पत्रकारहरूलाइ आग्रह गर्नुभयो । सामाजिक सञ्जालको उचित रूपमा प्रयोग गर्न तथा गराउने वातावरण बनाउन भूमिका खेल्नको लागि पनि उहाँले सञ्चार माध्यमलाइ आग्रह गर्नुभयो । कार्यक्रममा अकोराबका महासचिब थापाले सामुदायिक रेडियोको निर्वाचन आचारसंहिता भित्र रहेर समाचारहरू प्रसारण गर्नको लागि सामुदायिक रेडियोहरूलाइ आग्रह गर्नुभयो । यसअघि पनि सामुदायिक रेडियोहरूले आचारसंहिताको पालना गर्दै समाचारहरू प्रसारण गरिरहेको भन्दै अब पनि यसमा ध्यान दिने बताउनुभयो । यस्तै अकोराबका अध्यक्ष अर्जुन गिरिले निर्वाचन आयोगले नै जारी गरेको आचारसंहिता भित्र रहेर आफूहरूले सामुदायिक रेडियोको लागि आचारसंहिता जारी गरेको बताउनुभयो । समुदायका नागरिकको सुख दुःखका साथी सामुदायिक रेडियोहरूले निर्वाचनका समयमा स्वच्छ र तटस्थ बनेर काम गरिरहेको बताउनुभयो । यस्तै, अकोराबका उपाध्यक्ष बन्दना दनुवारले सबै सामुदायिक रेडियोलाई निर्वाचनको बेलामा तटस्थ भएर सामग्री प्रसारण गर्न आचासंहिताले सहयोग पुग्ने धारणा राख्नुभयो ।














