भक्तपुर जिल्लाव्यापी पुरुष तथा महिला पावर लिफ्टिङ्ग प्रतियोगिता २०७८ पुस २ र ३ गते हुने
मंसिर २५ गते । भक्तपुर जिल्लाव्यापी पुरुष तथा महिला पावर लिफ्टिङ्ग प्रतियोगिता २०७८ पुस २ र ३ गते हुने भएको छ । यसको अन्तिम तयारी बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका ५० जना भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएको आयोजक समितिले जनाएको छ । भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वाबधान तथा भाद्गाउँ स्पोट् एण्ड लिजरको आयोजनामा सो प्रतियोगिता लिजर प्रांगणमै आयोजना हुने भएको हो ।
सो प्रतियोगिता ५ वटा वजन समूहमा खेलाउने तयारी भएको भन्दै प्रतियोगिता संयोजक सुरेन्द्र भेलेले रु.एक हजार मै खेलमा सहभागि हुन सक्ने बताए । जिल्लाका ३४ वटा फिट्नेस केन्द्रका खेलाडीहरु सहभागि हुन आउने निश्चित भएको उल्लेख गर्दै फिट्नेस संघका अध्यक्ष बाबुकाजि मानन्धरले शारीरिक सुगठनको अफसिजनमा यो प्रतियोगिता आयोजना गरेर फिट्नेसहरुमा अभ्यास गर्नेको चहलपहल बढाएको बताए । भविष्यमा अन्तर नगरपालिकास्तरीय प्रतियोगिताको तयारी रहेको भन्दै अध्यक्ष मानन्धरले हरेक खेल क्षेत्रमा लाग्न पनि शारीरिक सुगठन चाहिने भएकाले यसप्रति आकर्षण बढाउन पनि सो प्रतियोगिताको महत्व रहेको बताए ।

६५ केजी र ६५ प्लस केजी तथा मास्टर समूहमा ४५ वर्ष भन्दा माथिको उमेर समूहमा हुने र महिला तर्फ ५५ केजी र ५५ प्लस केजी समूहमा गरी ५ वटा वजनमा खेल खाउने तयारी आयोजक समितिको छ ।
प्रतियोगिताको पहिलो दिन पुस २ गते शुक्रबार खेलाडीहरुको तौल लिने तथा प्रतियोगिताको नियम बारे जानकारी दिने र पुस ३ गते फाइनल प्रतिस्पर्धा गर्ने आयोजक समितिको तयारी रहेको संयोजक भेलेले बताए । विगत ४ वर्ष देखि भाद्गाउँ स्पोर्ट सञ्चालन गर्दै आएका भेलेले शारीरिक सुगठन, पौडी, टेनिस खेलको पनि अभ्यास र तालिम दिन्दै आएको बताए । भक्तपुर जिल्लाव्यापी पुरुष तथा महिला पावर लिफ्टिङ्ग प्रतियोगिता २०७८ उहाँहरुले पहिलो पटक गर्न लागेको भन्दै यसको तयारी बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको बताए ।
उत्कृष्ट हुने समूहका खेलाडीलाई ओभरलमा प्रथम उपाधीका साथै रु. ५० हजार नगद पुरस्कार, ट्रफिले पुरस्कृत गर्ने र ओभरलमा प्रथम हुने महिला तथा पुरुष खेलाडीहरुले जम्मा नगद रु. ६५ हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । विभिन्न संघ संस्थाहरुको सहयोगमा ८ लाख अनुमाणित बजेटमा आयोजना गर्ने तयारी गरेको सो प्रतियोगितामा प्रत्येक वजन समूहका फाइनल खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक एवं प्रमाण पत्रले सम्मानित गर्ने छन् भने प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशः १५ हजार, १० हजार तथा ५ हजार नगदले पुरस्कृत गर्ने आयोजकहरुको तयारी रहेको छ ।












