नेमकिपा अध्यक्ष विजुक्छेबाट भक्तपुर साकोसको रजत जयन्तीको उद्घाटन हुने

नेमकिपा अध्यक्ष विजुक्छेबाट भक्तपुर साकोसको रजत जयन्तीको उद्घाटन हुने
भक्तपुर, कार्तिक २१ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन्तीको उद्घाटन गर्नु हुने भएको छ । भक्तपुर साकोसले आइतबार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी दिएका हुन । “सहकारिताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता” नारा बोकेको भक्तपुर साकोसले यहि कार्तिक २७ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा रजत जयन्ती मूल समारोह आयोजना गर्ने उल्लेख गर्दै सो अवसरमा सप्ताह व्यापिरुपमा विभिन्न कार्यक्रमहरु आयोजना हुने पनि सो संस्थाका अध्यक्ष वलराम प्राजापतिले जनाएको छ ।
आज भन्दा २४ वर्ष पहिला स्थापना भएको संस्थामा हालसम्म ७ हजार ८ सय २२ जना सदस्य रहेको उल्लेख गर्दै यस वर्ष ३ अर्व १२ करोड कारोबार गरी काठमाण्डौ उपत्यकाकै कारोबारमा उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउँदै आएको व्यवस्थापक सत्यनारायण सैजूले सो अवसरमा जानकारी दिए ।
गत २४ वर्ष देखि सो संस्थाले समुदायमा आधारित भई समुदायका लागि गर्दै आएको विभिन्न सामुदायिक अभियानहरु बारे जानकारी दिने हेतुले स्मारिका प्रकाशन, संस्कृतिकर्मीहरुको सम्मान, सरसफाईकर्मीहरुको सम्मान गर्नुका साथ सो संस्थामा २० वर्ष देखि क्रियाशिल रहेका कर्मचारीहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम राखेको छ ।
साप्ताह व्यापी कार्यक्रम अन्तर्गत कार्तिक २१ गते पत्रकार सम्मेलन, २२ गते ७० वर्ष माथिका जेष्ठ नागरिक सदस्यहरुलाई पौष्टिक आहारा वितरण गर्ने, दिदी बहिनीहरुको भेला गर्ने, कार्तिक २३ गते कसिमला पाय् प्रतियोगिता आयोजना गर्ने, २४ गते रक्तदान कार्यक्रम आयोजना गर्ने, २५ गते सरसफाई र यस सम्बन्धि जनचेतनामूलक गतिविधि आयोजना गर्ने, २६ गते स्थानीय महिलाहरुको भेला गराई सुकुण्डा र्याली आयोजना गरी भक्तपुर नगर परिक्रममा गर्ने र कार्तिक २७ गते भक्तपुर नगरपालिका वडा नं.९ स्थित सूर्यमढी टोलमा विहान ११ बजे नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा रजत जयन्ती मूल समारोह आयोजना गर्ने कार्यक्रम तर्जुमा गरेको आयोजक समितिले जनाएको छ।
सो अवसरमा भक्तपुर साकोसको गतिविधिहरु बारे पत्रकारहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।