सहकारी संस्थामा नियमित बचतको अनिवार्यता
श्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २८औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथ्यतामा उपाध्यक्ष तथा स्थापना दिवस मूल तयारी समिति संयोजक बलराम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रत्नकेशरी सुखुपायोले स्वागत मन्तव्य व्यक्त गर्दै स्थापना दिवसको महत्व तथा कार्यक्रमका उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्थानीय परम्परागत साँस्कृतिक बासुरी बाजालाई प्रवद्र्धन गर्ने उद्देश्यले बाराही बासुरी बाजा समुहबाट स्वागत धुन र राष्ट्रि«य गानको धुन बजाइ अध्यक्षवाट उद्घाटन गरिएको प्रशंसा पत्र वितरण कार्यक्रममा भक्तपुर बारट्र«ेडिङ्ग एकेडेमीका प्रवन्ध संचालक राजन त्वायना र प्रशिक्षक आयुषा चगुठीको समेत सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रमुख वक्ताका रूपमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले “सहकारी सम्बन्धी वित्तीय साक्षरता“ विषयमा प्रशिक्षणात्मक प्रस्तुति दिनु भएको थियो । उहाँले वित्तीय अनुशासन, नियमित बचत, जिम्मेवार ऋण उपयोग, सदस्य शिक्षा तथा सहकारीको दिगो विकासका लागि वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहेको बताउनुका साथै सहकारी संस्थामा नियमित बचत अनिवार्य रहेको कुरालाई विशेष जोड दिनु भएको थियो ।
मन्तव्यका क्रममा अध्यक्ष राधेश्याम सुवालले स्थापना दिवस केवल उत्सव मात्र नभई विगत २८ वर्षको संस्थागत गौरवपूर्ण यात्राको समीक्षा तथा स्मरण गराउदैं आगामी दिनका लक्ष्यहरू निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले सदस्य केन्द्रित सेवा, वित्तीय अनुशासन, सुशासन, प्रविधिमैत्री सेवा विस्तार तथा सहकारी शिक्षालाई अझ प्रभावकारी बनाउँदै संस्थालाई थप सुदृढ र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थापना दिवसको अवसरमा संस्थामा निरन्तर बचत गर्दै आएका १२ जना नियमित बचतकर्ता तथा १२ जना बाल बचतकर्ता १ जना उत्कृष्ट बचत कर्ता र १ जना उत्कृष्ट ऋणीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी, संस्था स्थापना दिवसको उपलक्ष्यमा सञ्चालन गरेको कफी बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीहरूलाई पनि प्रशंसा पत्र, कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै लेखा सुपरिवेक्षण समितिका संयोजक बाल कृष्ण नागाबाट पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि, प्रशिक्षक तथा अन्य अतिथिहरूलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गर्दै समापन मन्तव्यका क्रममा सभापति तथा उपाध्यक्ष बलराम प्रजापतिले स्थापना दिवसले संस्था २८ वर्षमा प्रवेश गर्न सहयोग गर्नु हुने सम्पुर्ण सदस्यहरु तथा शुभचिन्तकहरु प्रति आभार प्रकट गरि आगामी दिनहरुमा पनि वित्तीय अनुशासन कायम गर्न साथ सहयोग र सहकार्यको अपेक्षा राख्नु भएको थियो ।
सचिव विष्णु प्रसाद सुवाल र संचालक पुनेन्द्र प्रसाद कुसीवाट संचालित स्थापना दिवस तथा प्रशंसा पत्र वितरण कार्यक्रममा सञ्चालक समिति, संस्थापक, लेखा सुपरीवेक्षण समिति, उपसमितिका पदाधिकारी, कर्मचारी, सदस्यहरु तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।














