भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन
भक्तपुर । २०८३ असार ७ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नगरपालिकाको बीसौं नगरसभाको आज एक विशेष समारोहका बीच पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि बिजुक्छेंले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउँदै जनप्रतिनिधिहरूले जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्नुपर्ने तथा जनतामाझ सही सूचना प्रवाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बिजुक्छेंले समाजमा देखिएका कमजोरी र विकृतिलाई सुधार्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै विकासलाई मात्र केन्द्रमा राखेर सम्पदामाथि असर पुग्ने गतिविधि गर्न नहुने बताउनुभयो। उहाँले भक्तपुरको ऐतिहासिक पहिचान जोगाउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।
पुरातात्विक महत्वका क्षेत्रहरूमा कुनै पनि निर्माण, पुनर्निर्माण वा उत्खनन् कार्य गर्नुअघि सम्बन्धित विज्ञसँग परामर्श, अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेँले अज्ञानतावश गरिने निर्णयले ऐतिहासिक सम्पदामा क्षति पुग्न सक्ने भएकाले यस विषयमा जनप्रतिनिधि र सरोकारवाला निकाय सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष बिजुक्छेंले समाजलाई सही दिशामा अघि बढाउन विद्यार्थी, युवा तथा जनप्रतिनिधिहरूलाई निरन्तर शिक्षित र प्रशिक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्दै दूरदर्शी सोच, अनुशासन र जिम्मेवार नेतृत्वबाट मात्र समाजको समग्र विकास सम्भव हुने बताउनुभयो
उहाँले विकास र संरक्षणलाई सँगसँगै अघि बढाएर भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउँदै समृद्ध समाज निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ।व। २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकताहरुलाई प्राथमिकतामा राख्दै निर्वाचन घोषणापत्रअनुसार काम गर्दै आएको चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ ले हामीलाई काम गर्न दिशानिर्देश गरिरहेको छ ।नगरबासीहरुको रचनात्मक सल्लाह, सुझाव र आलोचनालाई आत्मसात गर्दै हामी सम्पूर्ण जनप्रतिनिधिहरु भक्तपुरको विकासको निम्ति अगाडि बढ्दैछौं ।
भक्तपुर नगरपालिकाको आन्तरिक र बाह्य सीमित स्रोत र साधनहरुको आधारमा जनताको असीमित आवश्यकतालाई पूरा गर्नुपर्ने जिम्मेवारी रहेको बताउँदै उहाँले प्राथमिकता क्रमको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले भूकम्प र कोभिड–१९ महामारीपछिको कठिन परिस्थितिका बीच भक्तपुर नगरपालिकाले हासिल गरेको विकास र प्रगति उल्लेखनीय रहेको बताउनुभयो।
उहाँले नेपाल मजदुर किसान पार्टीले निरन्तर जनताको सेवा गर्दै आएको र यसका काम तथा उपलब्धिबारे देशव्यापी रूपमा चर्चा हुने गरेको उल्लेख गर्नुभयो।
उहाँले नेमकिपालाई विकासविरोधी भन्ने आरोप लगाउनेहरूलाई भक्तपुरमा भएका विकास निर्माणका कार्यहरूले गलत सावित गरिरहेको बताउदै क्षेत्रफलका हिसाबले भक्तपुर सानो भए पनि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालय, कलेज र सांस्कृतिक संस्थाहरू रहेको, विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुने गरेको तथा अन्तर्राष्ट्रिय भ्रमण र आदानप्रदानका कार्यक्रमहरू भइरहने गरेको उहाको भनाइ थियो।
सांसद गोसाईले भक्तपुर विश्व सम्पदा सहरका रूपमा परिचित रहेको उल्लेख गर्दै नगरले देशको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको समेत सेवा गरिरहेको धारणा राख्नुभयो।

उहाँले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउँदै लैजानुपर्ने, भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको शिशु स्याहार केन्द्रलाई थप नमुनायोग्य बनाउनुपर्ने सुझाव दिंदै नगर प्रहरी परिचालनलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने तथा विदेशमा अध्ययन गरेका दक्ष जनशक्तिलाई आफ्नै नगर र जिल्लाको सेवामा योगदान दिन प्रेरित गर्ने सन्देश प्रवाह गर्न नगरपालिकाले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले विकास र सुशासनका क्षेत्रमा भक्तपुर नगरपालिकाले स्थापित गरेको मोडल उदाहरणीय रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण तथा कार्यान्वयन गर्ने कार्य अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्दै गइरहेको बताउँदै भक्तपुर नगरपालिका विकास, सुशासन र सेवा प्रवाहका दृष्टिले ‘प्रकाशस्तम्भ’का रूपमा स्थापित भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पार्टीको घोषणापत्रलाई सिरोधार्य गर्दै जनताको सहयोग, जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासबाट प्राप्त उपलब्धिहरू सम्भव भएको उहाँले बताउनुभयो।
सांसद सैंजूले कुनै पनि संस्था एक वा दुई व्यक्तिको निर्णयले मात्र सफलतापूर्वक सञ्चालन हुन नसक्ने उल्लेख गर्दै सामूहिक भावना, साझा जिम्मेवारी र सहकार्यबाट गरिएका कामहरू दिगो हुने धारणा व्यक्त गनुभयो।
भक्तपुरमा समाजवादी कार्यशैलीअनुसार विकास निर्माणका कामहरू अगाडि बढिरहेको र राष्ट्रिय सम्पत्तिको संरक्षण तथा संवर्द्धनमा विशेष ध्यान दिइएको उहाको भनाइ थियो।
उहाँले सभ्यता र संस्कृतिको संरक्षणलाई समृद्ध समाज निर्माणको आधार मान्दै सभ्यता नभएको देश पछाडि पर्ने बताउनुभयो। समाजवादको महत्वपूर्ण पक्ष नै सभ्यता, संस्कृति र सम्पदाको संरक्षण तथा पुस्तान्तरण भएको उल्लेख गर्दै भक्तपुरले यस क्षेत्रमा पनि उल्लेखनीय कार्य गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य राख्दै नगरको गौरवमय यात्राबारे प्रकाश पार्दै नगरसभाले २०८३।८४ को नीति तथा कार्यक्रमलाई आधार बनाई आवश्यक बजेट निर्माण गरी अगाडि बढ्ने बताउनुभयो ।
उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले सूचना प्रविधिको अधिकत्तम प्रयोग गर्दै डिजिटलाइज्ड नगर निर्माणतर्फ महत्वपूर्ण कदमहरू अघि बढाएको स्पष्ट पार्दै जनप्रतिनिधिहरूले इमान्दारीपूर्वक जनताको सेवामा समर्पित भएर काम गरिरहेको र नगरवासीको विश्वास र अपेक्षाअनुसार विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यस्तै, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले नगरपालिकाबाट सञ्चालित शैक्षिक र स्वास्थ्य संस्थाहरूले सर्वसाधारणलाई दिँदै आएको सुलभ र गुणस्तरीय सेवाबारे चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त उद्घाटन कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।













