जुनसुकै विषय अध्ययन गरेपनि नतिजा राम्रो ल्याउन एसईईका विद्यार्थीहरुलाई मार्गनिर्देशन
भक्तपुर, श्रावण २९ गते
आदर्श आजाद माध्यमिक विद्यालय भक्तपुरले एसईई परीक्षा २०७७ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई शुक्रबार बधाई ज्ञापन तथा मार्ग निर्देशन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले मायाको चिनो प्रदान गर्नु भयो ।

विद्यालयका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा शिक्षक आशकुमार चिकंबञ्जारले मानबिकी, प्रेमजन थापा श्रेष्ठले शिक्षाशास्त्र र सह प्राचार्य चक्रबहादुर चाकतुले व्यवस्थापन समूहको अवसर, चुनौति र सो क्षेत्रहरु बारेमा प्रशिक्षण दिनु भएको थियो ।
अतिथि कवांले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै भक्तपुर शिक्षाको गन्तव्यस्थल बन्दै गरेको चर्चा गर्नु भयो । उहाँले देशलाई आत्म निर्भर बनाउन योग्य, दक्ष ईमान्दार र कर्तव्यनिष्ठ जनशक्तिको आवश्यकता पर्दछ भन्नु भयो । यस्ता जनशक्ति तयार गर्न शैक्षिक संस्थाहरु, अभिभावकहरु, शिक्षक, कर्मचारीहरु लगायत विद्यार्थीहरु मेहनती, लगनशील र अनुशासित हुनुपर्दछ । पाठ्यपुस्तकको अध्ययनले मात्र मानिसहरुलाई ब्यवहारिक बनाउदैन, समाज र समुदाय प्रति कर्तव्यनिष्ठ भई देश र जनताको हितमा लाग्नु पर्दछ उहाँले जोड दिनु भयो ।
सो अवसरमा विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले सबै विषय (समूह । संकाय)हरु उत्तिकै महत्वपूर्ण हुने हुँदा जुनसुकै विषय अध्ययन गरेपनि राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिनु भयो । यसको लागि विद्यार्थीहरुले आफ्नो रुची, क्षमता र अभिभावकको आर्थिक अवस्था अनुकूलको विषय छनौट गरी विद्यार्थीले अध्ययन गर्नुपर्दछ भन्नु भयो । महंगा शैक्षिक संस्था हुँदैमा शैक्षिकस्तर माथि नै पर्छ भन्ने कुनै सुनिश्चितता छैन । टाढा गएर अध्ययन गर्नु समय र पैसाको मात्र खर्च बढाउनु हो प्राचार्य किसीले सहभागि विद्यार्थीहरुलाई मार्गनिर्देशन दिनु भयो ।















