सहकारी वचतकर्ताको रकम छमहिनामा फिर्ताको पहल
भक्तपुर, फार्गुण २९ गते
अनन्द बहु उदेश्य सहकारी संस्था लि.का वचतकर्ताहरुको ६ महिना भित्र वचत रकम फिर्ता हुने भएको छ । बिगत डेर दुई वर्ष देखि वचत रकम फिर्ता नभएको गुनासो गर्दै आएका बचतकर्ताहरुले आज भक्तपुर नगरपालिका वडा नं. ६ कार्यालयमा दुईपक्ष बीच भएको छलफलपछि बचत रकम फिर्ता गर्ने सहमति भएको हो । अवको ६ महिना भित्र बचतकर्ताहरुको सम्पूर्ण बचत फिर्ता दिने सो सहकारीका अध्यक्ष कृतन प्रजापतिले निवेदन दिनुकासाथै हिजो वडाअध्यक्ष हरिराम सुवाल विरुद्ध भ्रम छर्न राखेको भिडियो बारे क्षमायाचना समेत गरेको छ ।
सो छलफलबाट आईतबार देखि बचतकर्ताहरुलाई १० । १० हजार रुपियाँ फिर्ता दिन थाल्ने र ६ महिनाभित्र सबै बचतकर्ताहरुको पैसा फिर्ता दिने सहमति भएको वडाध्यक्ष हरिराम सुवालले जनाएको छ । अनन्द बहुउदेश्य सहकारीका अध्यक्ष कृतन प्रजापतिले सो वडाबाट आफ्नो नाता प्रमाणित कार्य नगरी संबैधानिक मौलिकहकबाट समेत बन्चित गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि सहकारीका बचतकर्ताहरुले पनि आफ्नो बचत रकम फिर्ता पाउन वडा कार्यालयमा उजुरी एवं निवेदन दिएका थिए । सोमाथि आज छलफल गर्दै सहकारी संस्थाबाट वचतकर्ताको पैसा फिर्ता दिने सम्बन्धी सम्बन्धि वडाध्यक्ष, जनप्रतिनिधी एवं प्रहरी प्रतिनिधीहरुको रोहबरमा सो सहमति भएको थियो ।
वचत कर्ताहरुको बचत रकम फिर्ता नभएसम्म नीजको कुनै पनि सिफारिस सो वडा कार्यालयबाट गरिनदिन भन्दै वडाध्यक्ष सुवालले आफूमाथि भ्रम छर्ने कार्यको भत्सनासँगै सम्बन्धित पक्षबाट क्षमायाचना समेत भएको उहाँले बताए । अब आईतबार देखि निवेदन दिएका वचतकर्ताहरुलाई सहकारी कार्यालयबाट वा वडा कार्यालयबाट १०।१० हजार रकम फिर्ता हुने तथा अवको ६ महिनाभित्र सम्पुर्ण रकम फिर्ता गराउन पहल हुने उहाँले बताए । बचतकर्ताहरुले उच्च शिक्षा हासिंल गर्न, विरामीको उपचार गर्नलाई समेत समस्या हुने गरी आफूहरुको बचत रकम फिर्ता नभएको उल्लेख गर्दै आज भनपा ६ वडा कार्यालयमा भेला भएका थिए । सो वडामा सो सहकारीबाट बचत रकम फिर्ता पाउन १७ जनाले उजुरी अर्थात निवेदन दिएका थिए ।
सो क्रममा जनप्रतिनिधि गोविन्द दुवालले भक्तपुर भ्रष्टाचार विरुद्ध संघर्ष हुँदै आएको ठाउँ भएको चर्चा गर्दै जनताको वचतलाई दुरुपयोग नगर्न र सम्बन्धित बचतकर्ताहरुलाई फिर्ता गर्न आग्रह गरेका थिए ।














